समाचारशनिबार, आश्विन २६, २०७०
बस दुर्घटनामा १० को मृत्यु, २७ घाईते (अपडेट)
काठमाडौंबाट दोलखाका लागि रिर्जभ आएको बा २ ख ९२०० नम्बरको बस लाकुरी डाँडा झिगानेमा दुर्घटना हुँदा दोलखाका विन्दा श्रेष्ठ, बिष्णुलक्ष्मी श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, शान्त मास्के, नन्दप्यारी चाकुबाजी, बिमला चाकुबजी, आरुण प्रधान र दुई बर्षका बालक निलोस श्रेष्ठको निधन भएको छ ।
त्यसैगरी रामेछाप घर भएका बस चालक पूर्णबहादुर थापामगरको पनि दुर्घटनामा मृत्यु भएको छ भने अर्को एक जनाको सनाखत हुन सकेको छैन ।
बस सडकबाट दुई सय मीटर तल खसेको छ । घाईते २७ जनामध्ये गम्भीर अवस्थाका १० जनालाई सदरमुकाम चरिकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ । अन्य १७ घाइतेको सदरमुकाम चरिकोट र दोलखा बजारको अस्पतालमा उपचार भैरहेको छ ।
दशै मनाउन कालिञ्चोक युवा क्लब दोलखाको अगुवाईमा आएका दोलखा बजारका बासिन्दा दुर्घटनामा परेका छन् । ४० जना यात्रु रहेको बस दुर्घटनामा परी १० को मृत्यु र २७ जना घाईते भएपछि दोलखा बजार शोकमग्न भएको छ ।
बनेपा धुलीखेल चल्ने बस रिजर्भ गरी आएको र बस चालकलाई अरनिको रुटको बारेमा जानकारी नभएकोले दुर्घटना भएको अनुमान गरिएको छ । घाईतेहरुको स्थानस्य वासिन्दा, प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।
सर्मिला बुढाथोकी, दोलखा
