समाचारशनिबार, आश्विन २६, २०७०
इन्स्पेक्टर भट्टको महाकालीमा दाहसंस्कार
धार्मिक परम्परा अनुसार इन्स्पेक्टर (प्रहरी निरीक्षक) हेमराज भट्टको पार्थिव शरीरलाई महाकाली नदीमा उनका तीन छोरा प्रविण, नविन र जनकले दागबत्ती दिएका छन् । २५ असोज साँझ इन्सपेक्टर भट्टको शव दैलेखबाट महेन्द्रनगर ल्याइएको थियो । दाहसंस्कारमा आफन्तसँगै सुरक्षाकर्मी र ठूलो संख्यामा स्थानीय बासिन्दा सहभागी भए ।
यसअघि महाकाली अञ्चल प्रहरी कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा प्रहरी टोलीले अन्तिम सलामी दिएको थियो ।
बैतडीका घर भएका भट्ट केही वर्षदेखि कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा बस्दै आएका थिए । उनका तीन छोरा, एक छोरी र श्रीमती छन् ।
४ महिनाअघि मात्रै कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट सरुवा भएर दैलेख जिल्ला प्रहरी कार्यालय पुगेका भट्टको आप्mनै सहयोगी प्रहरी जवानले गोली हानी हत्या गरेको शुरुमा त्यहाँ कार्यरत प्रहरीले बताएका थिए ।
२४ असोज विहान ५ बजे कार्यालय परिषरमै रहेको उनको डेरामा सुतिरहेका भट्टलाई प्रहरी जवान कमलप्रसाद शर्माले गोली हानी हत्या गरेको र त्यसलगत्तै आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान थियो ।
तर, घटनामा प्रयोग भएको बन्दुक एसएलआर प्रहरी जवान कमलप्रसादको नभएको, कमलप्रसादको पेटमा लागेको गोलीको प्रकृति हेर्दा पनि आफैंले आफैंलाई हानेको हुन नसक्ने देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।
घटनाबारे भेरी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मधु पुडासैनीको टोलीले अनुसन्धान गरिरहेको छ । पुडासैनीका अनुसार ‘भि–सेरा’ को फरेन्सिक रिपोर्ट आएपछि मात्रै यसबारे थप जानकारी आउनेछ ।
बच्चु विक, महेन्द्रनगर

