समाचारआइतबार, आश्विन २७, २०७०
म्याङ्लुङ र डेउडी बजारमा भीषण आगलागी
२६ असोज राति आगलागीमा परी म्याङ्लुङ बजारमा आठ र डेउडी बजारमा तीन घर ध्वस्त भएका छन् ।
म्याङ्लुङ बजारका चिरञ्जीवीमान श्रेष्ठको पाँच तथा जयप्रसाद ढकाल र रघुनाथ श्रेष्ठको एक/एक वटा घर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार आगो नियन्त्रण गर्ने क्रममा घर भत्काउँदा नगेन्द्र तिम्सिनाको घर पनि क्षतिग्रस्त भएको छ । आगलागीबाट ११ वटा पसल जलेका छन् ।
दुई वटा ढाका पसल, इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कस्मेटिक, फेन्सी तथा रेडिमेड कपडा पसल, तीन वटा होटल, दूध डेरी तथा माछा–मासु जलेर नष्ट भएको प्रजिअ पराजुलीले जानकारी दिए ।
आगलागीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक उमाशङ्कर पञ्जियारले बताएका छन् ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । पसल बन्द गरी दसैँ मनाउन घर गएका बेला बन्द रहेको क्षितिज राईको फेन्सी पसलबाट राति करिब पौने १ बजेतिर आगलागी शुरु भएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले करिब तीन घन्टामा आगो नियन्त्रणमा लिएका थिए ।
म्याङ्लुङ बजारमा १२ वर्षअघि पनि सोही स्थानमा भीषण आगालागी भएको थियो । विसं २०५९ मङ्सिर २२ गते भएको आगलागीमा बजारका ८६ घर ध्वस्त भएका थिए ।
यसैगरी आठराइ छातेढुङ्गाको डेउडी बजारमा शनिबार राति भएको आगलागीमा डेउडी बजारका तीन वटा घर ध्वस्त भएका छन् ।
आगलागीमा प्रह्लाद उप्रेती, अरुण कन्दङ्वा र खगेन्द्र तामाङको घर नष्ट भएको प्रहरीले जनाएको छ । उप्रेतीको किराना पसलबाट अचानक राति ११ः३० बजेतिर सुरु भएको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले तीन घन्टापछि निभाएका थिए ।
रासस
