समाचारसोमबार, आश्विन २८, २०७०
राष्ट्रपतिद्वारा टीका ग्रहण
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहान ९:५७ बजेको साइतमा राष्ट्रपति रामवरण यादवले पण्डितहरुको हातबाट टीका ग्रहण गरेका छन् ।
टीका जमरा ग्रहण गरिसकेपछि शीतलनिवास रहेका आफ्ना परिवारजन, आफन्त तथा राष्ट्रपति कार्यालयका कर्मचारी र सञ्चारकर्मीहरुलाई पनि यादवले टीका तथा जमरा लगाइदिएका थिए ।
राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न उपराष्ट्रपति परमानन्द झा, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, गृहमन्त्री माधवप्रसाद घिमिरे, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु शीतलनिवास पुगेका थिए ।
सर्वसाधरणका लागि दिउँसो १ देखि साँझ ५ बजेसम्म टीका लगाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न झरीको मौसममा पनि सर्वसाधरण शीतलनिवास परिसरमा छाता ओडेर लामबद्ध भएका छन् ।
मन्त्रिपरिषद अध्यक्षद्वारा टीका ग्रहण
विजयादशमीका अवसरमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले ८१ वर्षीया आमा चित्रकुमारी रेग्मीको हातबाट टीका लगाएका छन् ।
आफ्नो सरकारी निवास बालुवाटारमा ९:५७ मिनेटको साईतमा पूजाअर्चना गरी परिवार र आफन्तलाई टीका लगाईदिएपछि उनले ११ बजे साममाखुशी रानीवारीमा गएर आमाको हातबाट टीका ग्रहण गरेका हुन् ।
अध्यक्ष रेग्मी राष्ट्रपतिको हातबाट टीका ग्रहण गरी बालुवाटार फर्केर मन्त्रीगण, उच्च सरकारी पदाधिकारी, सुरक्षा निकायका पदाधिकारीलाई टीका लगाईदिएको रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए ।

