समाचारबुधबार, आश्विन ३०, २०७०
निर्वाचनको सम्पूर्ण तयारी पूराः आयुक्त यादव
जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा ३० असोजमा राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आयुक्त यादवले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरेको भन्दै मतपत्र छपाईको काममात्रै बाँकी रहेको बताएका छन् ।
आगामी ४ मंसीरमा हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको १ करोड २५ लाख मतपत्र छपाइको काम २९ असोजदेखि शुुरु भइसकेको जानकारी दिँदै आयुक्त यादवले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्रमध्ये ९० लाख मतपत्र छपाइ भइसकेको र ६० लाख मतपत्र अझै छपाई हुने बताए ।
कुल २४० वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुटै मतपत्र छपाइको काम शुरु भइसकेकाले छपाइ हुने वित्तिकै ढुवानी थालिने भन्दै आयुक्त यादवले निर्वाचन आचारसंहिताको आयोगद्वारा मुलुकभरी अनुगमन भइरहेको जानकारी दिए ।
मुलुक निर्वाचनमय बनिसकेकाले निर्वाचनमा सहयोग गर्न नेकपा–माओवादीलगायतका असन्तुष्ट दलसँग आग्रह गर्दैै उनले अब कुनैपनि हालतमा निर्वाचन नरोकिने बताएका थिए ।
