समाचारबुधबार, आश्विन ३०, २०७०

दशैंका बेला किसानलाई दशा (तस्वीरसहित)

हिमालखबर

तीन दिन लगातार परेको झरीले पाकेको बाली नाश गरेपछि किसानहरुलाई दशैं दशा बनेको छ ।

लगातारको वर्षाले विराटनगर बकरीका राजवंशी परिवारलाई दशैं उत्सवपूर्ण भएन । खेतमा पाकेर भित्र्याउन ठिक्क परेको धान पानीले विगारेपछि उनीहरु दशैंमा खुशी हुन सकेनन् ।

“हाम्रो मुख्य आयस्रोत भनेकै धानबाली हो, भर्खरै काट्न शुरु गरेका थियौं,” ज्ञानादेवी राजवंशीले भनिन्, “तर हावाहुरीसँगै भएको वर्षाले सबै चौपट पार्‍यो ।” छिटै मौसममा सुधार भएर घाम लाग्यो भने बचेको बाली भित्र्याउन सकिन्थ्यो कि भन्ने ५५ वर्षीया ज्ञानादेवीको आशा छ ।

पाकेको बाली काट्न तयार भएका बकरीका अधिकांश किसान परिवार हुर्रीसँगै आएको पानीले वर्ष दिनको मेहनत खेर गएकोमा असहाय जस्तै भएका छन् । “यो ढलेको बोटबाट कति धान निस्कन्छ, हेरौं,” भिजेर भूइँमा लत्रक्कै परेका धानको बोट हेर्दै ७० वर्षीय गणेश कामतले भने ।

६ जनाको परिवारका लागि राखेर उब्रेको धान नजिकैको हाटमा बेच्ने सोच बनाएका कामतले यसपाली आफैंलाई भात खान पनि नपुग्ने अनुमान गरे । उनले भने, “यो वर्षको दशैं दशा भइदियो ।”

हुर्रीसँगै आएको पानीले पाकेको धान खेतमै झरेर नोक्सान भएको छ भने पाकेको धान पानीले भिजेपछि त्यसको गुणस्तर खस्किने, चामल पहेंलो हुने र कुहिने समेत हुन्छ । भिजेको परालसमेत काम नलाग्ने हुँदा किसानलाई थप मर्का परेको छ ।

शब्द/तस्वीर: भृकुटी राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>