समाचारशुक्रबार, कार्तिक १, २०७०
रुकुममा कांग्रेस कार्यकर्तामाथि आक्रमण
नेपाली कांग्रेस रुकुमले ३१ असोजमा रुकुमको बाफिकोट–३ मा आयोजना गरेको चुनावीसभाबाट फर्कदै गरेका बाफीकोट–९ का कांग्रेस वडा सभापति काली बहादुर बोहरासहित कार्यकर्ताहरु गण बहादुर बोहरा, हर्कु ओली, वीरजित परियारलगायतमाथि आक्रमण भएको नेपाली कांग्रेस रुकुमका जिल्ला सचिब हर्कसिह खत्रीले बताएका छन् ।
आक्रमणमा ५२ बर्षीय शिक्षक पूर्णबहादुर केसी समेत घाइते भएका छन् । मुख र ढाडमा धेरै चोट लागेका घाइतेहरुको स्थानीय औषधी पसलमा उपचार भइरहेको छ ।
मुखमा कपडा बाँधेर आएका वाइसीएल कार्यकर्ताहरुले आक्रमण गरेको कांग्रेस सचिव खत्रीले दाबी गरे ।
आक्रमणकारीहरुका बारेमा प्रहरीलाई खबर गरे पनि राजनीतिक दबाबमा परेर प्रहरीले कार्वाही नगरेको कांग्रेस रुकुमले आरोप लगाएको छ ।
लुटिएको सामाग्री फिर्ता
एमाओवादी कार्यकर्ताहरुले छिवाङ गाविस बाट तिन दिन अघि लुटेको नेपाली काँग्रेसको निर्वाचन प्रचार समाग्री जिल्ला प्रशासन कार्यालयको रोहवरमा फिर्ता गरेको छ ।
१ कात्तिकमा जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वदलीय छलफलमा आगामी दिनमा यस्ता गतिबिधि नगर्ने भन्दै एमाओवादीले लुटेको प्रचार सामाग्री फिर्ता गरेको कांग्रेस महासमिति सदस्य तिलक भण्डारीले जानकारी दिए ।
३० असोजमा एमाओवादी कार्यकर्ताले लुटेका ११ थान माइक, दुइ सय थान टिसर्ट र पर्चामध्ये ३ थान माइक अझै फिर्ता नभएको प्रहरीले जनाएको छ ।
दुईवटा निर्वाचन क्षेत्र भएको रुकुममा क्षेत्र न २ मा एमाओवादीका जनार्दन शर्मा र नेपाली कांग्रेसका गोपालजीजंग शाहबीच कडा प्रतिष्पर्धा हुने भएपछि दुवै पक्षबीच बेलाबेला झडप हुने गरेको छ ।
लक्ष्मण केसी, रुकुम
