समाचारशुक्रबार, कार्तिक १, २०७०
गैरआवासीय नेपाली सम्मेलन हुँदै
‘गैरआवासीय नेपाली र नेपाल : समृद्धिका साझेदार’ भन्ने नाराका साथ २ कात्तिकदेखि काठमाडौंमा छैटौं गैरआवासीय विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन शुरु हुँदैछ ।
गैरआवासीय नेपाली संघले पत्रकारसम्मेलन २ र ३ कात्तिकमा संघको अन्तर्राष्ट्रिय महाधिवेशन तथा ४ र ५ कात्तिकमा आगामी गैरआवासीय विश्व सम्मेलन गर्ने जनाएको छ ।
२ देखि ५ कात्तिकसम्म चल्ने उक्त सम्मेलनको राष्ट्रपति रामवरण यादवले उद्घाटन गर्ने तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले समापन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
शुरुको दुई दिन चल्ने अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि विश्व सम्मेलन हुनेछ ।
१ कात्तिकमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वका ५० मुलुकमा रहेका १ हजार ३०० गैरआवासीय नेपालीले सम्मेलनमा भाग लिंदैछन् । संघले हालसम्म ६५ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरेको छ ।
गैरआवासीय नेपालीको लगानीमा लमजुङको सर्दी खोलामा २७ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण शुरु गरिएको तथा हालसम्म रु आठ करोड खर्चेर देशका विभिन्न भागमा परोपकारका कार्य सम्पन्न गरिएको अध्यक्ष लामिछानेले बताए ।
