थप समाचारशनिबार, कार्तिक २, २०७०
एमाओवादी जिल्ला सदस्यमाथि गोली प्रहार
दाङको डुरुवा गाविस–६ धमकापुर बस्ने एमाओवादी जिल्ला सदस्य ३८ वर्षीय हरिशचन्द्र चौधरीमाथि अपरान्ह पौने ४ बजे गोलि प्रहार भएको छ ।
चौधरीको दायाँ खुट्टामा गोली लागेको छ भने गर्धन तथा कुममा खुकुरीको गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घरनजिकै गोरु चराउँदै गरेका चौधरीलाई ५ जनाको समूहमा आएका ब्यक्तिहरुले गोली प्रहार गरी दक्षिणतर्फको कोठरी गाउँतर्फ भागेको प्रहरीको भनाई छ ।
प्रहरीको खोजी सूचीमा रहेका पारस हमाल, जगत चौधरीलगायतका व्यक्तिले गोली प्रहार गरेको प्रहरीको दाबी छ ।
घटनामा संलग्न केही व्यक्तिहरु यसअघिका विभिन्न अपराधिक गतिबिधिमा संलग्न व्यक्ति भएको र प्रहरीको मोस्ट वाण्टेडको सूचीमा रहेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताएका छन् ।
घटनापश्चात् दाङका प्रहरी प्रमुख एसपी सरदकुमार खत्रीको कमाण्डमा घटनास्थल र आसपासका नाका तथा पूर्वपश्चिम राजमार्गमा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको पन्थले जानकारी दिए ।
गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । खुट्टाबाट गोली निकाल्न नसकिएको अस्पतालले बताएको छ ।
यसैबीच चौधरीमाथि भएको सांघातिक आक्रमणको एमाओवादी दाङले कडा शब्दमा भत्र्सना गरेको छ ।
देविका घर्ती मगर, दाङ
