समाचारशनिबार, कार्तिक २, २०७०
बागी उम्मेदवारी दिने कोइरालासहित पाँच जनामाथि कारबाही
नेपाली कांग्रेस चितवनको २ कात्तिकमा बसेको बैठकले पार्टीका आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दिने उम्मेदवार, प्रस्तावक र अन्य पार्टीबाट उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
चितवन निर्वाचन क्षेत्र नं ४ का बागी उम्मेदवार विकास कोइराला र उनका प्रस्तावक प्रकाश अधिकारी साथै स्वाभिमान नेपालबाट उम्मेदवारी दिएका ध्रुवराज मिश्र, थरुहटबाट उम्मेदवारी दिएका टीकेन्द्र चौधरी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवारी दिएकी निरु कार्कीलाई निष्कासन गरेको नेका जिल्ला सचिव सुनील श्रेष्ठले बताए ।
मिश्र र कार्की ३ नं निर्वाचन क्षेत्र र चौधरी १ नं निर्वाचन क्षेत्रका उम्मेदवार हुन् ।
यस्तै बैठकले पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रिय ढङ्गबाट लाग्न सबै नेता कार्यकर्तामा आग्रह गरेको छ । बैठकले स्वतन्त्र तथा अरू पार्टीको समर्थनमा लागेका जो कोही नेता र कार्यकर्तालाई पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
