समाचारसोमबार, कार्तिक ४, २०७०
कर्तव्य नबिर्सन एनआरएनलाई राष्ट्रपतिको आग्रह
छैटौँ गैरआवासीय नेपाली विश्वसम्मेलनको ४ कात्तिकमा काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादवले आर्थिक, व्यावसायिक, बौद्धिक पुँजीलाई आफू जन्मेको मुलुकको विकासका लागि परिचालन गर्न आग्रह गरेका छन् ।
विदेशमा शिक्षा, व्यापारलगायत क्षेत्रमा नेपाल र नेपालीको गौरव र गरिमा कायम गर्न सफल भएपनि मातृभूमिको समृद्धिका निम्ति केही गर्नुपर्ने बेला आएको स्मरण गराउँदै राष्ट्रपतिले आफू जन्मेको देशको आर्थिक–सामाजिक विकासमा योगदान गर्नु गैरआवासीय नेपालीको पनि कर्तव्य भएकोमा जोड दिए ।
“नेपाल र नेपालीको हित एवम् उन्नति कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ एनआरएनहरूले काम गर्नुपर्छ,” यादवले भने ।
पहिलो संविधानसभा संविधान जारी नगरी अन्त्य भएकोमा सबैलाई दुःख लागेको उल्लेख गर्दै उहाँले त्यसले तत्कालीन माओवादी लडाका र हतियारको व्यवस्थापन गरी शान्तिप्रक्रियाको प्रमुख कार्य सम्पन्न गर्नु सुखद भएको बताए ।
‘पहिलो संविधानसभा पूर्ण असफल होइन’
विसं २००७ र २०४६ का जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसकिए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रजस्ता २०६२÷२०६३ को आन्दोलनका उपलब्धिलाई विघटित संविधानसभाले संस्थागत गरेको राष्ट्रपतिको भनाई थियो । उनले पहिलो संविधानसभालाई पूर्णरूपमा असफल भन्न नमिल्ने धारणा व्यक्त गरे ।
विगतबाट पाठ सिकेर नयाँ सोचका साथ अघि बढ्न जरुरी भएको बताउँदै उनले दोस्रो संविधानसभा निर्वाचनलाई सफल पार्न गैरआवासीय नेपालीलगायत सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
समारोहमा राष्ट्रपतिले गैरआवासीय नेपाली अभियानमा योगदान गरेबापत नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
संघ विधिवत दर्ता
परराष्ट्रमन्त्री माधव घिमिरेले सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने र नवनिर्वाचित अध्यक्ष शेष घलेलाई सङ्घ दर्ताको प्रमाणपत्र हस्तान्तरण गरे ।
दश वर्षअघि स्थापना भएको सङ्घ विविध कारणले परराष्ट्र मन्त्रालयमा दर्ता हुन सकेको थिएन । ३ कात्तिकको मन्त्रिस्तरीय निर्णयअनुसार सङ्घलाई उक्त मन्त्रालयमा दर्ता गरिएको हो ।

