समाचारमंगलबार, कार्तिक ५, २०७०
शेरचनले भने, ‘मसँग बन्दुक भएको विर्सिएछु’
संविधानसभा निर्वाचनमा एमाओवादीका तर्फबाट चितवन क्षेत्र नं. ५ का उम्मेदवार बनेका अमिक शेरचनले आफूसँग हतियार छ भन्ने विर्सिसकेकोले स्थानीय प्रशासनले सूचना जारी गरेअनुसार बुझाउन बिर्सेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको अभिलेखमा उनको नाममा १२ बोर बन्दुक रहेको उल्लेख छ ।
“हतियार धेरै पुरानो भएकोले मलाई सम्झना नै भएन,” उनले भने “प्रशासनले हतियार बुझाऊ भनेको पनि मलाई जानकारी छैन ।”
निर्वाचन सुरक्षालाई ध्यानमा राखी स्थानीय प्रशासनले आफूसँग रहेका हतियार बुझाउन जिल्लाबासीलाई दुई पटक सुचना जारी गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार शेरचनले २०६३ सालयता उक्त हतियार नवीकरण पनि गरेका छैनन् ।
शेरचनले जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता रहेको उक्त बन्दुक अहिले काठमाडौंमा रहेको बताए । चुनावी प्रचारप्रसारमा ब्यस्त रहेकोले बन्दुक बुझाउन काठमाडौं जाने समय आफुसँग नभएको पनि उनले भने । हतियारको नवीकरण काठमाडौँमै गरेको उनको दावी छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार चितवनबाट एक सय ६४ जनाले हतियार राख्ने अनुमती लिएका छन् । अनुमति लिएका मध्ये असार मसान्तसम्म ९६ जनाले मात्रै नवीकरण गरेका छन् ।
अनुमति लिएर राखिएका हतियारहरुमा १२ बोर (एक नाले) ८३ थान, भरुवा बन्दुक दुई थान, पेस्तोल दुई थान, २२ बोर ६४ थान, हावादारी बन्दुक १४ थान र अन्य नौ थान छन् ।
नवीकरण गरिएका मध्ये १४ जनाले मात्रै जिल्ला प्रहरी कार्यालय, चितवनमा आफुसँग भएको हतियार संविधान सभाको निर्वाचन अवधीभरको लागि बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले हतियार नबुझाउनेको घरघर गएर हतियार उठाउने बताए ।
सविता श्रेष्ठ, चितवन
