समाचारमंगलबार, कार्तिक ५, २०७०
दलहरुद्वारा आचारसंहिता उल्लंघन

आचारसंहिता विपरित एमाओवादी उम्मेदवार लिलामणी पोखरेलको तस्वीर र पार्टीको झण्डा चुनाव चिन्ह सहितको क्यालेण्डर बाँडिएको छ ।
चितवनमा एमाओवादीद्वारा उल्लंघन
संविधानसभा निर्वाचनको प्रचार प्रसारका क्रममा चितवन क्षेत्र नं २ मा ५ कात्तिकमा नेकपा माओवादीले निर्वाचन आचार संहिता विपरित माइकिङ्ग गर्दै हिडेको भन्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
त्यस्तै सोही क्षेत्रको पदमपुरमा नेकपा एमालेका उम्मेदवारले मतदातालाई आकर्षित गर्न भोज गराएको भनी नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ ।
यसैगरी बैतडी क्षेत्र नं २ मा सुदुरपश्चिम अखण्ड पार्टीका उम्मेदवार पुष्करराज जोशी (लख्खाभाइ) ले निर्वाचन आचारसंहिता विपरीत तुल ब्यानर टाँगेर निर्वाचन प्रचार प्रसार गरिरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
दलहरुले आचारसंहिताविपरित टिसर्ट, ज्याकेट, टोपी र झोला वितरण गरिरहेका छन् ।
धनुषामा कांग्रेसद्वारा उल्लंघन
निर्वाचन आचार संहिता २०७० को परिच्छेद २ को बुँदा नम्बर २१ र ३५ को नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालय धनुषामा उजुरी परेको छ ।
जनकपुरको रजौलस्थित एक विद्यालयमा निर्वाचन आचार संहिता विपरित यादवले भोज भतेर गरी भोट मागेको भन्दै जनकपुर नागरिक समाजका सल्लाहकार भरत रायले उजुरी दिएका हुन् ।
संविधानसभा सदस्य निर्वाचन आचार संहिता २०७० अनुसार मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सि र अन्य कुनै पनि सामग्री वितरण गर्न वा प्रदान गर्न वा भोज भतेरको आयोजना गर्नु वा गराउन पाइँदैन । त्यसैगरि, बुँदा नम्बर ३५ मा विद्यालय र विद्यालय हाताभित्र आमसभा, माइकिंङ लगायत निर्वाचन प्रचारको काम गर्नु नहुने स्पष्ट उल्लेख छ ।
प्युठानमा एमालेद्वारा उल्लंघन
प्यूठान क्षेत्र नम्बर १ मा नकपा एमालेकातर्फ बाट उम्मेदवार वामदेव गौतमले निर्वाचन आचार संहिता विपरित दलको झण्डा र निर्वाचन चिन्ह छापिएको टोपी, टिसर्ट लगायतका सामाग्री वितरण गरेका छन् ।
प्युठानमा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले खुलेआम दलका झण्डा र निर्वाचन चिन्ह छापिएको टोपी, टिसर्ट, ज्याकेट वितरण गरिरहेका छन् । प्यूठानमा आचारसंहिता उल्लंघन भइरहँदा पनि आफूकहाँ उजुरी नपरेको र उल्लंघन नभएको दाबी मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद उपाध्यायको छ ।
निर्वाचन आयोगले जारी गरेको आचार संहितामा मतदातालाई प्रभाव पार्ने उद्देश्यले नगद, जिन्सि र अन्य कुनै पनि सामाग्री वितरण गर्न वा प्रदान गर्न वा भोज भतेर गर्न नपाईने उल्लेख भएपनि उम्मेदवारहरुले यस्ता सामाग्रीहरु प्रदान गरि प्रचार प्रसारमा जुटेका छन् भने गाउँगाउँमा भोजभतेर पनि निकै चलाएका छन् ।
‘संविधानसभा सदस्य निर्वाचन आचारसंहिता २०७०’ अनुसार चुनावी आमसभा र नाराजुलुसमा झूठो आश्वासन दिन, उत्तेजित नारा लगाउन रोक लगाइएको छ तर मतदाता आकर्षित नेताहरुले गाउँ गाउँमा विद्युतको पोल, तार वितरण गर्ने, सडकदेखि जलविद्युत विकास गर्ने जस्ता झुठा आश्वासन बाड्दै हिडिरहेका छन् ।
निर्वाचन अनुगमन समितिका संयोजक तथा अनुगमन अधिकृत खगराज पौडेलले आचार संहिताका उल्लंघनका विषयमा लिखित रुपमा उजुरी नआएपनि मौखिक रुपमा सुनिएकोले यस विषयमा अनुगमन तिव्र बनाईएको र उल्लंघन भएको पाईएमा कारवाही गर्ने बताए ।
मनिका झा जनकपुरबाट, प्रमाेद पोखरेल प्यूठानबाट


