समाचारबुधबार, कार्तिक ६, २०७०
उम्मेदवारले भित्र्याएका गाडीहरु नियन्त्रणमा

मजफो नेपालकी उम्मेदवारले भन्सार दर्ता समेत नगराइ प्रचारमा प्रयोग गरेका ४ वटा भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्व कृषि राज्यमन्त्री एवम् मधेशी जनअधिकार फोरम नेपालकातर्फबाट पर्सा क्षेत्र नम्बर १ की उम्मेदवार करिमा बेगमले भन्सारमा दर्ता समेत नगराई प्रयोग गरीरहेको ४ वटा भारतीय नम्बरका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
फोरम नेतृ बेगमले आफ्नो प्रचार प्रसारमा खटिएका एमएच १५ के ३८५५, बिआर ०६ बी ३५२३ र बिआर ०५५३६२ नं.का चार वटा गाडिहरु प्रहरीले पक्राउ गरेको मन्त्री बेगमले बताइन् ।
त्यसैगरी नेकपा संयुक्त, संघीय सदभावना, हिन्दू प्रजातान्त्रिक पार्टी लगायतका दलका उम्मेदवारहरुले प्रयोग गरिरहको भारतीय नम्बर प्लेटका गाडीहरु पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बेगमले आफूले प्रयोग गरेको गाडीको भन्सार दर्ता तीन दिन मात्र फेल भएको स्वीकार्दै प्रहरीको रवैया ‘मधेश बिरोधी’ भएको आरोप लगाइन् ।
बारा क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार महमुद आलमको हत्यामा भारतीय नम्बरको मोटर साइकलको प्रयोगपछि प्रहरीले चुनावी प्रचारमा प्रयोग भइरहेका गाडीहरुको चेक–जाँचमा कडाइ गर्ने बताए पनि अझै भारतीय नम्बरका गाडीहरुको दुरुपयोग भइरहेको स्थानीय बताउँछन् ।
श्याम गुप्ता, बारा
