समाचारशुक्रबार, कार्तिक ८, २०७०
एमाओवादी धाँधलीको षडयन्त्र गर्दैछ: नेता नेपाल
प्रेस चौतारी रौतहटले ८ कात्तिकमा गौरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले विगतको निर्वाचनजस्तै यस पटक पनि एमाओवादीले धाँधली गरेर ठूलो दल बन्ने सपना देखेको भन्दै एमाओवादीको ‘सपना’ विफल पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
एमाओवादी लगायतका केही दलहरुले निर्वाचन आयोगलाई मतदाता परिचयपत्र वितरण नगर्न दबाब दिएको र गैरमतदाताहरुलाई मतदान गराउने षडयन्त्र शुरु गरेको आरोप लगाउँदै नेता नेपालले परिणाम आफ्नो पक्षमा नआउने त्रासले गर्दा यस्तो षडयन्त्र शुरु भएको बताए ।
निर्वाचनलाई स्वतन्त्र र धाँधलीरहित बनाउन सबै राजनीतिक दलहरुले उत्तिकै सहयोग गर्नुपर्ने धारणा राख्दै नेता नेपालले चृुनावको मैदानमा पराजित हुन्छु भनेर अराजक गतिविधि मच्चाउनेहरुलाई जनताले नै तह लगाउने चेतावनी पनि दिए ।
‘एकवर्षमा संविधान नबने जनमत संग्रह’
नेता नेपालले संविधानसभाको निर्वाचन सम्पन्न भएकोे ६ महिनाभित्रै नयाँ संविधानको मस्यौदा तयार गरी एक वर्षभित्र संविधान जारी नभए जनमत संग्रहमा जाने बताएका छन् ।
उनले भने, “दोस्रो पटकको संविधानसभाले एकवर्ष भित्र संविधान निर्माण गर्न नसके फेरि संविधानसभाको अवधि बढाउने वा तेस्रो निर्वाचन गर्ने भन्ने कुरा स्वीकार्य हुँदैन ।” आगामी संविधानसभामा पनि समाधान हुन नसकेका विषयहरुमा जनमतसंग्रह गर्नु एकमात्र विकल्प हुने नेता नेपालकाे धारणा छ ।
नेता नेपाल रौतहट १ र काठमाडौ २ नम्बरबाट संविधानसभा सदस्य उम्मेदवार हुन् ।
