थप समाचारशनिबार, कार्तिक ९, २०७०
‘निर्वाचनका बेला विदेशिनेको लर्को’
प्रेमनारायण आचार्य, अर्घाखाँची
देशका ठूला शहरमा मात्र हैन लुम्बिनी अञ्चलको पहाडी जिल्ला अर्घाखाँची पनि अहिले निर्वाचनमय बनेको छ । राजनीतिक दल र उम्मेदवारहरु बेरोजगार युवालाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने, देशलाइ केही वर्षमै विश्वकै समुन्नत बनाउने नाराका साथ गाउँगाउँ चाहार्दै छन् ।
अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालयमा राहदानीका लागि फाराम भर्ने युवाहरुको लामले भने दल र नेताहरुको यो नारालाई जिल्याएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दैनिक सय बढी युवाहरु वैदेशिक रोजगारीमा जानका लागि राहदानीको फाराम भर्न र बनिसकेको राहदानी लिन ब्यस्त छन् ।
“बिए पास गरेर पनि कर्ही रोजगार पाउन नसकेपछि भारतमा ७ बर्ष बिताएँ,” राहदानीको फाराम लिने लाममा बसेका ढाकाबांग–९ का निमाराम खनालले भने, “भारतमा दुख गरेर कमाएको रकमले अब खाडीतिर जाने योजनामा छु ।”
उनले राजनीतिक दलका नारा भ्रममात्रै भएको र आफूलाई कत्ति पनि विश्वास नभएको बताए । २८ बर्षीय खनालले भने “म जस्तालाई घरखर्च चलाउन बिदेशी भूमीमा नगई सुखै छैन ।”
राहदानीको फाराम भर्दै गरेकी सन्धिखर्ककी २१ वर्षीया बिन्दु बेल्बासे भन्छिन, “ दलहरुको रोजगारीको सृजना गर्ने र युवाहरुको बढ्दो बिदेश पलायनलाइ रोक्ने नारा चुनाब जित्ने हतकण्डा मात्रै हो ।” बिबिए उत्तिर्ण बेल्बासेले देशमा रोजगार पाउन नेताहरुको सिफारिस चाहिने भन्दै आफूले कुनै नेता नचिनेकाले विदेश जान लागेको बताइन् । उनी भन्छिन, “देशको माया र यहीं केही गरौं भन्ने इच्छा हुँदाहुँदै पनि वातावरण बन्न सकेन, जति प्रयास गर्दा पनि उपाय नलागेपछि विदेश जान लागेकी छु ।”
निमाराम र बिन्दु जस्ता हजारौं शिक्षित युवाहरुको समस्या यस्तै छ । विश्वविद्यालयस्तरको अध्ययन गरेकादेखि औपचारिक शिक्षा नै नलिएकासम्म झण्डै ४० हजार युवायुवतीहरु अर्घाखाँचीबाटमात्रै वैदेशिक रोजगारमा गएका छन् ।
“नेपालमा काम पाउन कि पार्टीको झण्डा बोक्नु पर्छ नभए भोकै बस्नु पर्छ,” नुवाकोट–१ पातुंगाका २२ वर्षीय राजेन्द्र पाण्डेले भने । निर्वाचनप्रति उदासिन देखिएका उनले भने, “आफैं केही गरौं भने पनि सुरक्षा छैन, सहयोग छैन, संविधान बनेछ भने पनि मेरो समस्याको समाधान हुन्छ भन्ने ग्यारेण्टी छैन ।”
संविधानसभाको निर्वाचन संघारमै आइपुगेका बेला विदेश जान झोला कस्ने युवाहरुको लाम ठूलै छ । यसैबेला जिल्ला प्रशासनमा अन्यबेलाको तुलनामा नागरिकता लिन र राहदानी फाराम भर्न आउने सेबाग्राहीहरुको भीड बढेको छ ।
रोजगारी र अध्ययनका क्रममा जिल्ला बाहिर रहेकाहरु दशैंतिहारका बेला घर आएको मौकामा नागरिकता र राहदानी बनाएर विदेशतिर कुलेलम ठोक्ने सोचाईमा छन् ।
अरु बेलाभन्दा अहिले नागरिकता र राहदानी फाराम लिन आउनेहरुको संख्या तेब्बर बढेको सहायक प्रमुख जिल्ला अधिकारी भेसराज खनाल बताउँछन् ।

