समाचारआइतबार, कार्तिक १०, २०७०
आलम हत्याका आरोपी पूर्वसभासद्सहित दुई जना सार्वजनिक
जिल्ला प्रहरी कार्यालय बारामा १० कात्तिकमा पत्रकार सम्मेलन गरी केन्द्रीय अनुसन्धान ब्यूरोले महमुद आलमको हत्या अभियोगमा पक्राउ परेका पूर्वसभासद् प्यासीसहित भारतीय नागरिक अतिक खान र राजु श्रीवास्तवलाई सार्वजनिक गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी प्रकाश अर्यालले पूर्वसभासद् कुशवाहाको योजनामा आलमको हत्या भएको बताए । “अहिलेसम्मको अनुसन्धान अनुसार हत्यामा उनीहरुको संलग्नताको आधार भेटिएको छ,” अर्यालले भने, “हामी अझै अनुसन्धानमै छौं ।”
बाराको बन्जरिया- ७ का ५० वर्षीय प्यासी एमालेकै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य पनि हुन् । पेसाले सिभिल इञ्जिनियर भारतको अलीगढ घर भएका ४२ वर्षीय अतिक खान वीरगञ्जमै ब्यापार गर्छन् । राजु श्रीवास्तव भारतमा पत्रकारिता गर्दै आएका छन् । भारत रक्सौल-४ घर भएका ३८ वर्षीय बर्माले सूचनाको व्यवस्थापन गरेको प्रहरीको दाबी छ ।
प्रहरीले आलम हत्या योजना ६ महिना अघिदेखिको भएको तर यसअघिका तीनवटा प्रयास विफल भएपछि बारामा हत्या
गरिएको बताएको छ । डीआइजी अर्यालका अनुसार काठमाडौंको जोरपाटीमा ११ असोजमा भारतीय नागरिक मोहम्मद समुसलहक र एमाले नेता आलममालाई गोली प्रहार गर्ने व्यक्ति एउटै हुन् ।
हत्याका मूख्य योजनाकार दुबईमा बसी निर्देशन र समन्वय गरेको बताए पनि प्रहरीले दुबईमा रहेका भनिएका व्यक्तिको नाम भने खुलाएन ।
एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका आलममाथि १८ असोज मा बाराको परवानीपुरस्थित चावसती खाद्य उद्योगअगाडि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी फरार भएका थिए ।
गम्भीर घाइते आलमलाई वीरगञ्जमा प्राथमिक उपचारपछि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो । उपचारका क्रममा २४ असोजमा आलमको मृत्यु भएको थियो ।
श्याम गुप्ता, बारा
————————————————————————–
आलम हत्या अभियोगमा पूर्वसभासद पक्राउ
बारा ४ का नेकपा एमाले उम्मेदवार महमुद आलमको हत्या अभियोगमा पूर्वसभासद तथा एमाले नेता रामचन्द्र प्यासी कुशवाहा पक्राउ परेका छन् ।
कुशवाहालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले ९ कार्तिक साँझ पक्राउ गरेको हो । गत संविधानसभामा एमालेबाटै सभासद भएका कुशवाहाले प्रत्यक्षमा टिकट नपाएपछि हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ ।
आलमलाई १८ असोज बिहान बाराको लिपनीमाल–४ मा मोटरसाईकलमा आएका दुई जनाले गोली हानेका थिए । उपचारको क्रममा हक हप्तापछि आलमको निधन भएको थियो ।

