समाचारसोमबार, कार्तिक ११, २०७०
कोइरालाको गाडीमा आगजनी
नेपालगञ्जको सुर्खेत रोडस्थित कांग्रेस पार्टी कार्यालय बाहिर रोकिराखेको भे १ च ९१७ नम्बरको महिन्द्रा स्कोर्पियो गाडीमा ११ कात्तिक बिहान सवा १० बजे आगजनी प्रहरीले जनाएको छ ।
नम्बर नखुलेका दुई वटा मोटरसाइकलमा मास्क लगाएर आएका तीन जना व्यक्तिले रक्सीको बोतलमा मट्टीतेल भरेर मोटरमा प्रहार गरेका थिए । मोटरको पछाडि पट्टिको दायाँ टायरबाट आगो सल्कन लाग्दा निभाउन भ्याएकाले गम्भिर क्षति भने हुन पाएन । संविधानसभा निर्वाचनमा बाँके ३ बाट प्रत्यक्ष उम्मेदवार बनेका कोइरालाले कात्तिक ७ देखि मंसिर ५ सम्म चुनाव प्रचारका लागि नेपालगञ्ज नगरपालीका ४ का विनोद न्यौपानेको नाममा रहेको उक्त गाडी भाडामा लिएका थिए । प्रहरीले आगजनी गर्नेको खोजि भइ रहेको जनाएको छ ।
सुशीलका भाइ एवं बाँके कांग्रेस सभापति अरुण कोइरालाले निर्वाचन नचाहने अराजक तत्वले आगजनी गरेको प्रतिक्रिया दिए । केही दिनअघि नेकपा–माओवादीले उम्मेदवारी फिर्ता लिन दबाब दिंदै पत्र पठाएकाले आगजनीमा उनीहरुकै हात हुन सक्ने आशंका उनले गरेका छन् ।
काठमाडौं समेत आगजनी
यसैबीच काठमाडौं–५ का कांग्रेस उम्मेदवार नरहरि आचार्यको गाडीमा समेत ११ कात्तिक बिहान नेकपा–माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् । धापासीस्थित कृष्ण मन्दिर नजिक मोटर पार्किङ गरी घर दैलोमा निस्केको बेला आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा वैद्य माओवादीका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाएका थिए । समयमै निभाउन भ्याएकाले उनको गाडी पनि पुरै जल्नबाट भने जोगिएको प्रहरिले जनाएको छ । ११ कात्तिकमै नारायणहिटी उत्तरढोकामा रोकिराखेको एमाले नेता राजेन्द्र पाण्डको गाडीमा समेत वैद्य माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।
