समाचारबुधबार, कार्तिक १३, २०७०
दाहालको चुनावी यात्राः ४८ किमी हेलिकप्टरमा
नेकपा माओवादीले सडकमा अवरोध गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ४८ किमी टाढा रहेको काभ्रेमा आयोजित पार्टीको चुनावीसभालाई सम्बोधन गर्न काठमाडौंबाट हेलिकप्टरको यात्रा गरेका छन् । प्रति घण्टा रु १ लाख ५७ हजार भाडा पर्ने फिस्टेल एअरको हेलिकप्टरमा काभ्रे आएका दाहाल यहाँ आयोजित सभालाई सम्बोधन गरेपछि हेलिकप्टरबाटै दोलखातर्फ लागेका छन् ।
दाहाल काभ्रे आउने भएपछि नेकपा–माओवादीले अरनिको राजमार्गको धुलिखेल–पाँचखाल खण्डको विभिन्न ठाउँमा अवरोध गर्नुका साथै बाटोमा मोबिल पोखाएका थिए । तर प्रहरीले सडकमा भएको अवरोध भने हटाइसकेको थियो ।
दाहाललाई लिएर गएको हेलिकप्टर नेपाली सेनाको तालिम केन्द्र पाँचखालमा अवतरण गराउन खोजिए पनि सेनाले राजनीतिक कार्यक्रमका लागि आउने हेलिकप्टरलाई हेलिप्याड उपलब्ध नगराउने जवाफ दिएपछि पाँचखालकै खेल मैदानमा अवतरण गराइएको स्थानीय एमाओवादी नेताले बताएका छन् ।
४ मंसीरमा हुन लागेको संविधानसभा सदस्य निर्वाचनका लागि कुनै नेता साइकलमा, कोही पैदल त कोही हेलिकप्टरमा यात्रा गरिरहेका छन् । यसले नेपालमा विद्यमान बर्गीय विभाजनको खाल्डोलाई झनै बढाएको जानिफकारहरु बताउँछन् ।
