समाचारबिहीबार, कार्तिक १४, २०७०
एमाओवादी निर्वाचन विथोल्न खोज्दै छः कोइराला
गोरखालगायतका विभिन्न स्थानमा एमाओवादीले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको भन्दै नेपाली कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अब निर्वाचन विथोल्न उद्दत भएको दाबी गरेका छन् । उनले प्रश्न गरे,“ निर्वाचनका बेला हिंसा र हुलदंगा गरेर एमाओवादीले के गर्न खोजेको हो ?”
आफ्नो निर्वाचन क्षेत्र बाँके–३ मा घरदैलोमा जुटेका कोइरालाले १४ कात्तिक बिहान पत्रकारहरूसँग कुरा गर्दै गोरखामा कांग्रेस कार्यकर्तामाथिको आक्रमणमा एमाओवादी नेता बाबुराम भट्टराईको हात रहेको बताए ।
एमाओवादीले कांग्रेस र एमालेमाथि आक्रमण बढाउँदै लगेकाले सरकारले उनीहरु विरुद्ध कारवाही गर्नुपर्ने कोइरालाको भनाइ थियो । उनले जनता चुनावका पक्षमा रहेकाले अशान्ती मच्चाउन खोजिए पनि त्यो शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न हुने दाबी गरे ।
“वैद्यजी ले चुनाव हिंसात्मक हुँदैन भन्नुभएको छ,” कोइरालाले भने, “प्रचण्डजीले पनि पार्टीगत रूपमै हुने गरेको आक्रमण बन्द गर्नुपर्छ ।”
त्यसअघि बिहान वीपी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसले दुईतिहाई बहुमत ल्याउने दावी गरे । कांग्रेसले जिते मात्रै लोकतान्त्रिक संविधान बन्न सक्ने उनको भनाइ थियो ।
कोइरालासँगै बाँके ३ मा एमाओवादीका दामोदर आचार्य, एमालेकी विजया धिताल, राप्रपा नेपालका धवल शमशेर राणा, तमलोपाका पशुपतिदयाल मिश्र लगायत उमेद्वारहरु प्रतिस्पर्धामा छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
