थप समाचारशनिबार, कार्तिक १६, २०७०

मतदाताको रोजाइ स्थानीय उम्मेदवार

हिमालखबर

४ मंसीरमा हुने संविधानसभाको दोस्रो निर्वाचनमा मतदाताले स्थानीय उम्मेदवारप्रति बढी भरोसा देखाएका छन्।
हिमाल ले कात्तिक पहिलो साता गरेको सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ३५.६ प्रतिशतले स्थानीय उम्मेदवारलाई मत दिने बताएका छन्।

आफ्नै पार्टीका उम्मेदवारलाई मत दिन्छु भन्नेको संख्या २२.१ प्रतिशत छ भने आफ्नो जातकालाई रोज्ने ३.५ प्रतिशत र लिंगकालाई रोज्ने १.१ प्रतिशत छन्। भोलि ठूलो पदमा पुग्न सक्ने नेतालाई मत दिन चाहने मतदाता १०.४ र राष्ट्रिय नेतालाई मत दिन्छु भन्ने ९ प्रतिशत छन्। सर्वेक्षणमा सहभागी १५.२ प्रतिशत उत्तरदाताले कसलाई मत दिने भन्ने थाहा नभएको बताए भने ३.२ प्रतिशतले भन्न चाहन्न भने।

स्थानीय उम्मेदवारलाई विश्वास गर्नेमा सबभन्दा बढी अर्थात् ४०.७ प्रतिशत स्नातकोत्तर पढाइ सकेकाहरू देखिए। भौगोलिक रूपमा भने सबभन्दा बढी जनकपुरका बासिन्दा (८४ प्रतिशत) ले स्थानीय उम्मेदवारप्रति विश्वास दर्शाएका छन्। स्थानीय उम्मेदवार रोज्नेमा विराटनगरका ५६ प्रतिशत र वीरगञ्जका ४८ प्रतिशत उत्तरदाता छन्। एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई उम्मेदवार भएको बुटवलका ४० प्रतिशत मतदाता स्थानीय उम्मेदवारको पक्षमा देखिएका छन्। आफ्नै पार्टीका उम्मेदवारलाई रोज्ने मतदाता भने सबभन्दा बढी अर्थात् ५२ प्रतिशत पोखरामा देखिए।

आगामी निर्वाचन सरकार बनाउन नभई संविधानलेखनको लागि हुन लागेको अधिकांश उत्तरदाताको बुझाइ देखिएको छ। ४५.५ प्रतिशत उत्तरदाताले संविधान लेख्नका लागि मत दिन लागेको बताए भने ५.६ प्रतिशतले सरकार निर्माणका लागि भोट हाल्ने बताएका छन्। दुवै कामका लागि मतदान गर्न लागेको बताउने उत्तरदाताको संख्या ३८.६ प्रतिशत छ। ८.५ प्रतिशत उत्तरदाताले केका लागि मतदान गर्ने भनेर थाहा नभएको र १.९ प्रतिशतले भन्न नचाहेको बताएका छन्।

उत्तरदातामध्ये ४८.२ प्रतिशत महिला र ४३.३ प्रतिशत पुरुषले संविधान लेख्नका लागि मत दिने जवाफ दिए।
संविधानलेखनका लागि मत दिए पनि संविधानसभाले नयाँ संविधान बनाउनेमा आम उत्तरदाता विश्वस्त छैनन्। सबभन्दा धेरै ३९.९ प्रतिशत उत्तरदाताले संविधानसभाले संविधान बनाउन सक्ने वा नसक्नेबारे थाहा नभएको जवाफ दिए।

३७.२ प्रतिशतले संविधान बनाउने र २१.५ प्रतिशतले बनाउन नसक्ने उत्तर दिएका छन्। भन्न नचाहनेको संख्या १.३ प्रतिशत छ। संविधान बनाउँछ भन्नेमा सर्वाधिक ४०–५९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत छन्। यस्तै स्नातकोत्तर तथा त्योभन्दा बढी पढाइ भएका ४४.४ प्रतिशत उत्तरदाता संविधान बन्नेमा विश्वस्त देखिएका छन्। सबभन्दा धेरै घोराहीका ६४ प्रतिशत उत्तरदाताले संविधान बन्नेमा विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>