समाचारआइतबार, कार्तिक १७, २०७०
दाहाल र भट्टराई निर्वाचन रोक्न उद्यत: पौडेल
निर्वाचन हुनेमा कसैले पनि द्विविधा राख्नु नहुने भन्दै कांग्रेस उपसभापति पौडेलले हार ब्यहोर्ने डरले एमाओवादी शीर्ष नेताहरु नै निर्वाचन स्थगित गराउन उद्दत रहेको दाबी गरेका छन् ।
१७ कात्तिकमा तनहुँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले भने, “कांग्रेसको पक्षमा जनलहर देखिएपछि अत्तालिएर प्रचण्ड र बाबुराम निर्वाचन स्थगित गर्न लागिपरेका छन् ।” एमाओवादीले समेत निर्वाचनमा भाग नलिए पनि निर्वाचन नरोकिने भन्दै उनले थपे, “प्रचण्ड बाबुराम जो सुकैले षडयन्त्र गरे पनि निर्वाचन भईछाड्छ, बरु उम्मेदवारी हापे हुन्छ, हामी निर्विरोध हुन्छौं ।”
सुरक्षा परिषदले शान्तिपूर्ण रुपमा निर्वाचन हुन नसक्ने भनी सरकारलाई सुझाव दिएको भन्ने बारे केही सञ्चारमाध्यमले उल्लेख गरेको भन्दै पौडेलले त्यस्तो सुझाव आपत्तिजनक रहेको जनाएका छन् ।
“उसले (सुरक्षा परिषद सचिवालयले) ‘सबैलाई मान्य हुने समाधान खोज्न’ भनि दिएको सुझाव आपत्तिजनक छ, सबै समस्या समाधानको विकल्प निर्वाचन मात्रै हो, ” पौडेलले भने ।
पवन पौडेल,तनहुँ
