समाचारसोमबार, कार्तिक १८, २०७०
नेपाल सम्वत् ११३४ शुरु, गोबर्धन तथा म्हः पूजा गरिंदै
आज घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्ने चलन छ ।
कृषकहरुले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङ्गलामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।
गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्याउने भएकाले पर्वतको प्रतिनिधि गोवद्र्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ ।
द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई वर्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिएको प्रतिकका रुपमा पनि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन छ ।
म्हः पूजा
आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ति बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।
संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो ।
रासस
नेपाल सम्वत् ११३४ शुरु
आजदेखि नेपाल सम्वत् अनुसार नयाँ वर्ष ११३४ शुभारम्भ भएको छ ।
नव वर्षको पहिलो मुलुकका विभिन्न भागमा विभिन्न कार्यक्रमको आयोजना गरी खुसियाली मनाइँदै छ ।
नेपाल सम्वत्का प्रवर्तक शङ्खधर साख्वाः हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरूप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।
