थप समाचारमंगलबार, कार्तिक १९, २०७०
बलात्कारको पीडा
आफ्नै पिताबाट बलात्कृत भएर बच्चा जन्माएकी विराटनगरकी एक बालिका अहिले अनिच्छाले जन्मिएको बच्चा स्याहार्दैछिन् भने पिता उदयपुर कारागारमा पश्चात्ताप गर्दैछन्। एकाबिहानै लागूपदार्थ सेवन गरेर घरमा आएका उनले भात पकाउँदै गरेकी छोरीलाई बलात्कार गरेका थिए। कसैलाई भनेमा खुकुरीले काट्ने धम्की पिताबाट पाएपछि छोरीले त्यो घटनाबारे कसैलाई भनेकी थिइनन्। तर, छोरीको गर्भ बढ्दै गएपछि अरूलाई जिम्मा लगाउने बाबुको प्रयास गाउँलेको विरोधले असफल बनेको थियो। (हे. youtube.antenafoundation.com)
मैले जे भोगें कार्यक्रमका प्रस्तोता हरिवंश आचार्यसँग उदयपुर गाईघाटको कारागारमा रहेका पीडक बाबुले गलत काम गरेकोमा पश्चात्ताप गर्दै भने “इज्जत, भविष्य सबै खत्तम भयो।”
कैलालीको चौराहामा ठेलागाडामा खानेकुरा बेच्ने १४ वर्षीया एक बालिकाको कथा पनि उत्तिकै पीडादायी छ। मीत बा भनेर बोलाउने गरेको छिमेकीले रक्सी पिएर एक दिन ती बालिकालाई बलात्कार गरेका थिए। शुरूमा गर्भ बसेको थाहा नपाएकी उनलाई पेट ठूलो भएर वाक्वाकी लाग्न थालेपछि ९ महीनाअघिको त्यो घटना सम्झना आयो। तर, डरले कसैलाई केही बताउन नसकेर घर छाडेर दिपायल लागिन्। बाटोमा गाडी चालकले सोधीखोजी गर्दा घटनाबारे सबै बताएपछि सहयोगका लागि उनलाई गाडी चालकले प्रहरीमा पुर्याए। प्रहरीले उनका आफन्तलाई बोलायो र एउटा होटलमा बस्ने बन्दोबस्त मिलाइदियो। जहाँ उनले बच्चा जन्माइन्। उनको भिनाजुको सहयोगमा पीडकलाई पनि प्रहरीले ल्यायो। पीडकले गल्ती स्वीकार्दै रु.३ लाख तिरेर मिलापत्र गर्न प्रयास गरे पनि मिलापत्र गर्दा अरू दोषी प्रोत्साहित हुने भन्दै पीडितकी दिदीले मानिनन्।
सानै उमेरमा आमा बन्न बाध्य उनी अहिले आफ्नै सहारामा बाँचिरहेकी छिन् भने पीडक जेलमा सजाय भोगिरहेका छन्। सन्तान नभएका एक जना सहृदयीले उनको बच्चा पाल्न लगेका छन्। जसले, उनलाई ८ कक्षामा छुटेको पढाइ पुनः निरन्तरता दिन आँट पलाएको छ। त्यस्ता समस्या पर्दा नलुकाएर भन्न अरू पीडितहरूलाई उनको सुझाव छ।
आफ्नै भिनाजुबाट बलात्कृत सुर्खेतकी १४ वर्षीया एक बालिकाले आमा, दिदी, छिमेकी र स्कूल सबैबाट सहयोग पाइन्। त्यही भएर चन्द्रज्योति निमावि सुर्खेतमा अध्ययन गरिरहेकी उनले पढाइ छाड्नुपरेन। स्कूलका प्रधानाध्यापक होमलाल भण्डारीले पढाइलाई निरन्तरता दिन उनलाई सहयोग गरे। बालिकाकी आमाका अनुसार, उजुर दिन जाँदा शुरूमा गाली गरे पनि पछि प्रहरीले मुद्दा दर्ता गर्यो। अहिले पीडक थुनामा छन्। पीडित बालिका पछि बालअधिकारकर्मी बन्ने इच्छा व्यक्त गर्छिन्।
समाजमा यौनजन्य अपराध बढिरहेको देखाउन यी उदाहरण पर्याप्त छन्। नेपाल प्रहरीको एक तथ्यांक अनुसार आर्थिक वर्ष २०६८/६९ मा ५५५ बलात्कारका मुद्दा दर्ता भएका थिए। इज्जत जाने डरले बलात्कार घटना सकेसम्म लुकाउने प्रवृत्ति समाजमा रहेकाले बलात्कारका घटना यीभन्दा धेरै भएको अनुमान गर्न सकिन्छ।
कानून छैन
स–साना नानीहरू बलात्कृत भएको घटना अभिभावकहरू सकेसम्म बाहिर ल्याउन चाहँदैनन्। त्यस्ता घटना बाहिर आउँदा पीडकभन्दा पीडितले हेय बेहोर्नुपर्ने अवस्था छ। बालमनोविज्ञ डा. नन्दिता शर्मा पीडा गुम्स्याएर राख्दा यौनदुर्व्यवहार भोगेका बालबालिकामा दूरगामी असर पर्ने बताउँछिन्। पीडित बालबालिकामा आत्मविश्वासको कमी हुने, विपरीत लिंगीको मानिस देख्नासाथ डराउने र असुरक्षा महसूस हुने उनको भनाइ छ।
अधिवक्ता पुण्यशिला दवाडीका अनुसार सार्वजनिक यातायातमा सबैभन्दा बढी यौनदुर्व्यवहार हुन्छ। चिनेजानेका व्यक्तिसँग घुम्न जाँदा र सिनेमा घरमा पनि यौनदुर्व्यवहार हुने गर्छ।
बालिकाहरूको पीडा सुनेका प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले बालयौनदुर्व्यवहारमा संलग्नहरूलाई कारबाही गर्न छुट्टै कानून नभएको र सार्वजनिक अपराध ऐन अन्तर्गत कार्बाही गर्न कठिनाई रहेको बताए। कार्यक्रमका एक सहभागीले बलात्कृत महिला उजुरी लिएर प्रहरीकोमा जाँदा कहाँ, कसरी, कसले गर्यो भनेर हतोत्साहित गर्ने गरेको र बलात्कारको जस्तै पीडा दिने गरेको बताएपछि महानिरीक्षक रानाले त्यस विषयमा आफू संवेदनशील बनेको बताएका थिए। उनले बलात्कार र यौन दुर्व्यवहार रोक्ने सम्बन्धमा पाँच हजारभन्दा बढी प्रहरीलाई प्रशिक्षित गरेको बताउँदै कानूनी सुधार गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए।
