समाचारशुक्रबार, कार्तिक २२, २०७०

एबीसी टेलिभिजनलाई २४ घन्टे स्पष्टीकरण

हिमालखबर

नेपाली कांग्रेसले एबीसी टेलिभिजनलगायत केही सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कारवाहीका लागि निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । कांग्रेसले विभिन्न सञ्चारमाध्यम र निर्वाचन क्षेत्रमा भएका आचारसंहिता उल्लङ्घनका घटना रोक्न ज्ञापनपत्र बुझाएपछि आयोगले स्पष्टिकरण मागेको हो ।

आयोगका प्रवक्ता वीरबहादुर राईले एबीसी टेलिभिजनले एमाओवादीको पक्षमा समाचार प्रसारण गरेको भनी उजुरी परेकाले स्पष्टीकरण सोधिएको बताए । आयोगले सञ्चारमाध्यमबाट विज्ञापन गर्दा उम्मेदवारले खर्च गर्न पाउने कुल सीमा रु १० लाखभित्रैबाट गर्न पनि ध्यानाकर्षण गराएको छ ।

आयोगमा एमाआवादीले मेची महाकाली अभियानका क्रममा पनि आचारसंहिताको पालना नगरेको तथा राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा सो पार्टीका लागि खेलकुद सामग्री वितरण गरेर आचारसंहिताको उल्लङ्घन गरेको भनी उजुरी परेको छ ।

यस्तै टिभी फिल्मीले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको पक्षमा समाचार दिएको भन्ने उजुरी पनि परेको छ । आचारसंहिताको अनुगमनबारे आयोगले एकहप्तापछि विस्तृत जानकारी दिने भएको छ ।

कपिलवस्तु–४ मा निर्वाचन मिति यथावतै

कपिलवस्तुको निर्वाचन क्षेत्र नं. १ बाट तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवारको निधन भएपछि स्थगित गरिएकोमा उक्त पार्टीले पुनः उम्मेदवारी नदिने भएपछि निर्वाचन ४ मंसीरमै हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले कपिलवस्तु निर्वाचन क्षेत्र नं १ मा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवारको निधन भएपछि सो क्षेत्रको निर्वाचन स्थगन गरिएकामा सो पार्टीले अर्काे उम्मेदवार नदिने र ४ मंसीरमा नै निर्वाचन गराएमा आपत्ति नहुने जनाएकाले निर्वाचन कार्यक्रम यथावत राखिएको जानकारी दिएका छन् ।

तर उक्त क्षेत्रमा वितरण हुने मतपत्रमा उक्त दलको निर्वाचन चिह्न ‘फ्रिज’ हुनेछ । आयोगमा विभिन्न पार्टीले पेस गरेका समानुपातिकका उम्मेदवारको बन्दसूचीबाट सम्बन्धित उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा २२ देखि २८ कात्तिकसम्मका लागि आवेदन खुल्ला गरिएको छ ।

यसअन्तर्गत खस समावेशी पार्टीका प्रेमबहादुर क्षेत्रीले आफ्नो मञ्जुरीबिना पार्टीले उम्मेदवार बनाएको भन्दै फिर्ताका लागि आवेदन दिएका छन ।

आयोगले २८ गतेसम्म आउने आवेदनलाई अध्ययन गरी सम्बन्धित पार्टीलाई जानकारी दिने र २९ गते समानुपातिक प्रणालीको अन्तिम बन्दसूची सार्वजनिक गर्ने भएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>