समाचारशनिबार, कार्तिक २३, २०७०

बन्द विफल पार्ने सुरक्षा रणनीति तयार

हिमालखबर

चुनावको विरोधमा हुन लागेको बन्द असफल पार्न सुरक्षा निकायलाई ‘अन दि स्पट’ पक्राउ गर्ने निर्देशन दिइएको गृहमन्त्री माधवप्रसाद घिमिरेले जानकारी दिए । वैद्य माओवादीको बन्द असफल पार्न सरकारले ‘सुरक्षा रणनीति मार्गदर्शन २०७०’ तयार पारेको छ । बन्द शुरु हुनु भन्दा दुई दिन पहिला २३ कात्तिकमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले भने, “बन्द गर्न खोज्नेलाई तुरुन्त पक्राउ गरेर मुद्दा चलाउने आदेश दिएको छु ।”

गृहमन्त्री घिमिरेले यसअघिका सरकारले बन्द व्यवस्थापन गर्दै आएको तर अहिले सरकारले बन्द असफल पार्न जुनसुकै कदम चाल्ने बताए । चुनाव विथोल्न खोज्नेहरूप्रति सरकार कठोर रुपमा प्रस्तुत हुने घिमिरेले उल्लेख गरे ।

सरकारले जिल्ला सुरक्षा समिति र क्षेत्रीय सुरक्षा बैठकको सुझावपछि नयाँ सुरक्षा रणनीति तयार पारेको हो । देशभरीका दश हजार १७ मतदान केन्दका लागि केन्द्रीय सुरक्षा रणनीति बनाएको छ भने काठमाडौं उपत्यकाका लागि विशेष सुरक्षा योजना बनाएको छ ।

९० प्रतिशत क्षतिपूर्ति
बन्दका क्रममा क्षतिग्रस्त भएका सवारी साधनको ९० प्रतिशतसम्म क्षतिपूर्ति सरकारले व्यवहोर्न गृहमन्त्रीले घिमिरेले जानकारी दिए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्द अवधी वा चुनावको सिलसिलामा घाइते भएकालाई तत्काल रु २५ हजार राहत उपलब्ध गराउने अधिकार दिइएको छ ।

यसैबीच १ असोजदेखि २२ कात्तिकसम्ममा जम्मा १५३ चुनावसँग सम्बन्धी घट्ना भएको गृह मन्त्रालयको तथ्याँक छ । त्यस मध्ये १९१ घट्नामा चुनाव विरोधी समूह र ५३ घट्नामा चुनावमा भाग लिएका समूहको संलग्नता देखिन्छ । यसबीचमा निर्वाचन विरोधमा लागेको भन्दै ८९ जनामाथि मुद्दा चलाइएको छ ।

सरकारले यसअघि नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र स्थानीय प्रशासन सम्मिलित एकिकृत सुरक्षा समिति बनाउने निर्णय गरिसकेको छ । सुरक्षा योजनामा उम्मेदवार, मतदाता, मतदानस्थल, मतपेटिकालगायत १५ बुँदालाई उच्च प्राथमिकता दिइएको छ ।

सन्त गाहा मगर, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>