समाचारशनिबार, कार्तिक २३, २०७०
‘कांग्रेस बुढो, एमाले नीति नभएको, एमाओवादी भाग्यविधाता’
चुनावी प्रचारका लागि ‘मेची–महाकाली अभियान’ मा हिंडेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २३ कात्तिकमा चितवन र नवलपरासीका विभिन्न स्थानमा गरेका सम्बोधनमा नेपाली कांग्रेस र नेकपा एमालेप्रति रिस पोखेका छन् ।
नवलपरासीको कावासोतीमा आयोजित कार्यक्रममा दाहालले कांग्रेसलाई ‘धोद्रो भइसकेको बुढो रुख’ र एमालेलाई नीति नै नभएको दल भन्दै मुलुकको भाग्य र भविष्य निर्माण गर्ने जिम्मा आफ्नै दलको भएको दाबी गरे । उनले मदन भण्डारीको निधनसंगै एमालेको पतन भएको आरोपसमेत लगाए ।
चितवनको पर्सा, टाँडी, भरतपुर र नवलपरासीको कावासोती, चोरमारा, वर्दघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गरेको एमाओवादी नेताद्वय दाहाल र बाबुराम भट्टराईले यसअघि हेटौंडामा आयोजित सभामा पनि कांग्रेस र एमालेलाई नै निशाना बनाएका थिए ।
दाहालले मेचीमहाकाली अभियानको मूल उद्देश्य नै निर्वाचन सफल पार्नु रहेको भन्दै अघिल्लो संविधान सभामा एमाओवादीले दुइतिहाइ बहुमत नल्याउँदा संविधान बन्न नसकेको जिकिर गरे ।
त्यसैगरी एमाओवादी नेता भट्टराईले एमाओवादी नेतृत्वको सरकारले ल्याएको बजेट देशमा अहिलेसम्मकै उत्कृष्ट बजेट रहेको जिकिर गर्दै मुलुकलाई ४० वर्षभित्रैमा समृद्ध बनाउने दाबी गरे ।
दुवै नेताहरुले सबै ठाउँका चुनावी सभामा उस्तै भनाई दोहोर्याएका थिए ।
विद्रोही गिरी, नवलपरासी/ सविता श्रेष्ठ, चितवन
