समाचारशनिबार, कार्तिक २३, २०७०
प्रहरी महानिरीक्षक राना विदा बस्दै
गृह मन्त्रालय उच्च स्रोतले हिमालखबर डटकमलाई दिएको जानकारी अनुसार महानिरीक्षक राना २५ कात्तिकबाट विदा बस्न लागेका हुन । राना तिस वर्षे सेवा अवधि पुरा गरेर २९ कातिकमा अवकास हुँदैछन् । ३० कातिक २०४० मा प्रहरी निरीक्षकबाट करिअर आरम्भ गरेका रानाले २९ भदौ २०६९ यता प्रहरी संगठनको नेतृत्व गर्दै आएका छन् ।
रानापछि अतिरिक्त प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल महानिरीक्षक बन्ने छन् । अहिलेका एआइजीहरू नवराज ढकाल, भीष्म प्रसाई, गंगा पाण्डे, दिनकर समशेर राणा र पुष्कर रेग्मी पनि रानासँगै अवकास हुने भएपछि अर्याल महानिरीक्षकको एकमात्र दावेदार हुनेछन् । अर्याल १४ कात्तिकमा बढुवा भएका थिए ।
यसैबीच प्रहरी नायब महानिरीक्षक पार्वती थापाले भने आफू भन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै २१ कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी छन् । थापाले ज्येष्ठता, शैक्षिक योग्यता, कार्यसम्पादनको अंक कमजोर हुँदाहुँदै अर्याललाई बढुवा गरेको रिटमा उल्लेख गरेकी छन् ।
