समाचारआइतबार, कार्तिक २४, २०७०

संखुवासभामा गोली चल्यो, एमाओवादी उम्मेदवार लखेटिए

हिमालखबर

एमाओवादी उम्मेदवार राजेन्द्रप्रसाद किराँती ।

संखुवासभाको याङसिजुङको कालिका माविमा २३ कात्तिकमा कार्यक्रम गर्न खोज्दा स्थानीययुवाहरुले ढुङगामुढा गरी लखेटेपछि एमाओवादी उम्मेदवार राजेन्द्रप्रसाद किराती भागेर जानेक्रममा जलजला गाबिस–३ को तोरीबारीमा राति करिब ९ बजे अर्को समूहसँग झडप भएको छ ।

अपरिचित व्यक्तिहरुको समूहले जलजला–२ मा झडपका क्रममा ४ राउण्ड गोली चलाएको स्थानीयबासी पासाङ शेर्पाले जानकारी दिए । उनले गोली दुवै पक्षबाट पड्किएको दाबी गरेका छन् । तर, कुनै हताहती भने हुन पाएन ।

घटनास्थलबाट प्रहरीले २४ कात्तिक बिहान एक थान एसएलआर राइफल र ११ राउण्ड गोली फेला पारेको छ । राइफल कुन पक्षको हो भन्ने पुष्टी नभएको सङ्खुवासभाका प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताए ।

एमाओवादीले विद्यालयमा चुनावी कार्यक्रम गर्न खोजेपछि स्थानीय युवाहरुले नगर्न अग्रह गरेकोमा र एमाओवादीका स्थानीय कार्यकर्ता मैताहाङ लिम्बुले एमाओवादीबिरुद्ध बोल्नेलाई कारवाही हुन्छ भनेर धम्की दिन थालेपछि स्थानीय युवा मणी लिम्बु, जीवन लिम्बु, सूर्य लिम्बु लगायतले ढुंगा प्रहार गरी उम्मेदवार किराँती लगायत एमाओवादी कार्यकर्तालाई लखेटेको बताएका छन् ।

“हामीले विद्यालयमा कार्यक्रम नगर्न मात्र अनुरोध गरेका हौं तर, ३० वटा झण्डा विद्यालयमा गाडेर कार्यक्रम गर्न शुरु गरे पछि लखेटेको हौ,” युवाहरुले भने ।

उता नेकपा–माओवादीका इन्चार्ज राजेन्द्र कार्कीले घटनाका बिषयमा केही प्रतिक्रिया नदिए पनि प्रहरीले फेला पारेको राइफल आफूहरुको हुनै नसक्ने बताए ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक बिनोद निरौला र जिल्ला प्रहरी कार्यालय खाँदबारीका निरीक्षक सन्तोष पाठकको नेतृत्वमा ठुलो संख्यामा नेपाल प्रहरी परिचालन भएको छ । घटनास्थल सदरमुकाम खाँदबारी र इलाका चैनपुरबाट ५ घण्टाको पैदल दुरीमा पर्छ ।

छेटु शेर्पा सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>