समाचारसोमबार, कार्तिक २५, २०७०
दाहालले भने, ‘मन्त्री बनाउँछु भोट दिनुस’
‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत २५ कात्तिक बिहान नेपालगञ्जमा आयोजित सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुस्लिम मतदाता निर्णायक रहेको नेपालगञ्जबाट आफ्नो पार्टीले मुस्लिम उम्मेद्वार नबनाउनु त्रुटि भएको भन्दै सिधै मन्त्री बनाउने प्रलोभन दिएका छन् ।
“बाँकेबाट मुस्लिम उम्मेद्वार उठाउन सकिएन,” दाहालले भने, “तर अझै दुई ठाउँ छ, २६ जनामा मनोनित गर्ने र सिधै मन्त्री बनाउने ।” त्यसका लागि एमाओवादीलाई जिताउन उनले आग्रह गरे ।
त्यस्तै बाँकेबाट थारु समुदायका उमेद्वार नबनाउनु पनि प्राविधिक त्रुटि भएको भन्दै उनले थपे, “थारू र मारवाडी समुदायलाई पनि २६ जनाको सिटमा समेट्ने पार्टीको नीति छ, त्यसका लागि हामीलाई भोट दिनुस् ।”
जहाँ गयो त्यहाँका समुदायलाई सभासद र मन्त्री बनाइदिने प्रलोभन र विकासको आश्वासन दिने दाहालले नेपालगञ्जमा पनि उस्तै अभिव्यक्ति दिए ।
मञ्चमा उक्लिसकेपछि स्थानीय नेतासँग कानेखुसी गरी ‘नोट’ गरेका स्थानीय समस्यालाई उनले भाषणमा सम्बोधन गरेका थिए । दाहालले राप्ती तटबन्धको कामलाई रणनीतिक योजना अनुसार अगाडी बढाउने, राँझा विमानस्थललाई क्षेत्रीय स्तरको बनाउने र हिल्सा–हुम्ला–नेपालगञ्ज सडक निर्माण गर्ने आश्वासन बाँडे ।
‘सबै मिलेर मलाई हराउन खोज्दैछन्’
दाहालले नेपाली कांग्रेस, एमाले, वैद्य माओवादी र मधेशवादी दल मिलेर आफूलाई हराउन लागिपरेको भन्दै दुखेसो पनि पोखे । २४ कात्तिक साँझ बाँके आएका दाहालले २५ कात्तिकमै बाँकेको खजुरा र बर्दियाका सभालाई सम्बोधन गरेका छन् ।
तुफान न्यौपाने, नेपालगञ्ज
