समाचारमंगलबार, कार्तिक २६, २०७०
गोइतका एरिया इन्चार्ज हतियारसहित पक्राउ
श्रवणकुमार देव, सप्तरी
जयकृष्ण गोइत समूहका सप्तरी इञ्चार्ज गोबरगाढा–३ का २१ बर्षीय प्रदीप मुखिया निर्वाचनबिरोधी योजना बनाउन नेपाल पसेको भन्ने जानकारी पाएपछि सुराकीको आधारमा उनलाई गोबरगाढाबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले २६ कात्तिक बिहान पत्रकार सम्मेलन गरी मुखियालाई सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक दिनेश अमात्यले मुखियाका साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली र एउटा सकेट बम फेला परेको जानकारी दिए ।
पक्राउ परेका मुखियालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
निष्प्रभावी गोइत र ज्वाला
२०६४ सालमा सम्पन्न संबिधानसभाको निर्वाचनमा तराईमा सशस्त्र समूहको स्थापना गर्ने जयकृष्ण गोइतको अखिल तराई मुक्ति मोर्चा र ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले धेरै ठाउँमा बिष्फोट र हत्याका घटना गराए पनि यसपटक भने उनीहरुको गतिबिधि शुन्य प्राय छ ।
निर्वाचन आउन एक साता अगाडिसम्म उनीहरुले निर्वाचन बिरोधि गतिबिधि गर्न सकेका छैनन् ।
२०६४ मा त्रासका कारण गोइतको गृहगाउँ सप्तरीको त्रिकौल गाविसमा एउटा मत पनि खसेको थिएन् । यद्यपी यस पटक सबै ठाउँका मतदाताले मतदान गर्ने विश्वास लिइएको छ ।
गोइत माओवादीका उत्पादन
तत्कालिन नेकपा माओवादीबाट छुट्टिएर २०६२ सालमा जयकृष्ण गोइतले जनतान्त्रिक तराई मुक्ति मोर्चा नामको सशस्त्र समूह स्थापना गरेका थिए ।
त्यसपछि उनीबाटै छुट्टिएर बनेका ज्वाला सिंहसहितका बिभिन्न सशस्त्र समूह अहिले सरकारसँग वार्ता प्रकृयामा आइसकेका छन् ।
अहिले तराईमा गोइत र ज्वाला सिंह मात्र भूमिगत छन् । विशेष गरी भारतको पटनामा बसेर नेपालमा हिंसात्मक गतिविधि गराउने गोइतको ढल्कँदो उमेर, भत्केको संगठन, तराईमा जनाधार नहुनुले उनका गतिविधिहरु निष्प्रभावी हुँदै गएका छन् ।
जिल्ला प्रहरी प्रमुख अमात्यले सशस्त्र समूहहरुले गर्न सक्ने गतिबिधीप्रति विशेष ध्यान दिई निगरानी बढाइएको बताएका छन् ।
