समाचारमंगलबार, कार्तिक २६, २०७०
यातायात व्यवसायीले ‘बन्द’मा सवारी साधन चलाउने
सरकारबाट सुरक्षा र क्षतिपूर्तिको आश्वासन पाएपछि यातायात व्यवसायीहरुको छाता संगठन यातायात ब्यवसायी राष्ट्रिय महासंघले बन्दका बेला सवारी साधन चलाउने निर्णय गरेको छ ।
यातायात व्यवसायी र भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री छविराज पन्तबीच २६ कात्तिकमा भएको छलफलपछि यातायात व्यवसायी बन्दमा पनि यातायात सुचारु गर्न सहमत भएका हुन् ।
मन्त्रालयमा भएको छलफलमा मन्त्री पन्तले सरकारले सुरक्षा तथा क्षति भएको अवस्थामा क्षतिपूर्तिको तत्काल व्यवस्था मिलाएकाले ढुक्क भएर सवारी साधन चलाउन आग्रह गरेका थिए ।
यातायात व्यवसायीले सरकारले दिने भनेको क्षतिपूर्ति बढाउनुपर्ने, कुनै घटना भएको अवस्थामा गाडीका मजदूरलाई पनि क्षतिपूर्ति दिनुपर्नेलगायतका माग राखेका थिए ।
यातायात व्यवसायी र मन्त्रालयबीच सहमतिमा हस्ताक्षर भएपछि यातायात व्यवसायीहरू सवारी सधान चलाउन सहमत भएका हुन् ।
बाणिज्य महासंघले सवारीसाधनसहित र्याली गर्ने
नेपाल उद्योग वाणिज्य महासंघले यातायात बन्दको विरोधमा २७ कात्तिकमा काठमाडौंमा सवारी साधनसहितको र्याली आयोजना गर्दैछ ।
महासंघले २६ कात्तिकसाँझ पत्रकार सम्मेलन गरी कुनै पनि दलले गर्ने हडताल र चक्काजामको आफूहरूले विरोध गर्दै आएको भन्दै उद्योग व्यावसायीले निर्वाधरूपमा व्यावसाय खोल्न पाउनुपर्ने र सर्वसाधारणको जनजीवनलाई सामान्य बनाउन आवश्यक पर्ने भएकाले सवारी साधन सहितको र्याली गर्ने जनाएको छ ।
महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको राजनीतिक अस्थिरताका नाममा पटकपटक हुने बन्द र हडतालले आर्थिक क्षेत्र तहसनहस हुने भएकाले भोलिदेखि यातायत बन्दका कार्यक्रम फिर्ता लिन सम्बन्धित मोर्चालाई आग्रह गरे ।
२७ कात्तिकमा उपत्यकाका विभिन्न नाकाबाट भेला भई सवारी साधनसहित बन्दको विरोधमा र्याली प्रदर्शन गरी बिहान १० बजे खुल्लामञ्चमा भेला हुन महासंघले सबैमा अपिल पनि गरेको छ ।
देशमा रोजगारीका सम्भावना भए पनि राजनीतिक अस्थिरताका कारण बन्दजस्ता कार्यक्रम हुने गर्नाले गम्भीर असर परेको, भएका उद्योग कलकारखाना पनि राम्रोसँग चल्न नपाएको अध्यक्ष वैद्यले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले र्यालीमा सहभागी हुन सबै पेसा र क्षेत्रका नागरिकलाई आग्रह गरेका छन् ।
महासंघको प्रतिनिधिमण्डलले नेकपा–माओवादीका नेतालाई २६ कात्तिकमा भेटी चक्काजामका कार्यक्रम फिर्ता लिन आग्रह पनि गरेको थियो ।
