समाचारबुधबार, कार्तिक २७, २०७०
दाहालको गाडीलाई लक्षित गरी बम
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कञ्चनपुर, निर्वाचन क्षेत्र नं. १ को बेलौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा शुक्लाफाँटा आरक्षको जंगलबीच सडकमा ओच्छाइएको बम विष्फोट गराइएको छ ।
बम कस्ले विष्फोट गरायो भन्ने खुल्न नसकेको र विष्फोटबाट कुनै क्षति पनि नभएको प्रहरीले जनाएको छ ।
दाहालको गाडीभन्दा करिब १०० मिटर अगाडि सडकमा ओच्छाएको ‘एम्बुस’ विष्फोट भएको थियो । कञ्चनपुर क्षेत्र नं. १ बाट दाहालका छोरा प्रकाशकी ‘श्रीमती’ बिना मगर एमाओवादीका तर्फबाट उम्मेदवार छिन् ।
सडकमा बम विष्फोट भएपछि दाहाल र उनलाई सुरक्षा दिइरहेका प्रहरीहरुको गाडी केही बेर रोकी सुरक्षा खतराबारे खोजबिन गरेका थिए । अहिले दाहाल सुरक्षित बेलौरी पुगिसकेका छन् ।
बच्चु विक, कञ्चनपुर
