समाचारबिहीबार, कार्तिक २८, २०७०
वैद्य जति उफ्रे पनि चुनाव रोकिँदैनः दाहाल
दक्षिण पर्वतको हुवासमा २८ कात्तिकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीलगायतका दलहरुले बन्द र बम आतङ्क फैलाए पनि चुनाव भएरै छाड्ने बताएका छन् । “मङ्सिर ४ मै चुनाव हुन्छ, ढुक्क भएर मतदान गर्नुस्” दाहालले भने, “नक्कली बम पड्काएर कोही पनि चुनावबाट भाग्ने छैनन् ।”
“एमाओवादीको पक्षमा देशव्यापी माहोल बनेको देखेर वैद्यहरु आत्तिनुभएको छ” उनले भने, “अझै समय छ आउनुस् मिलेरै संविधानसभामार्फत बाँकी क्रान्तिका कुरा पूरा गरौँला ।”
पिछडिएको पर्वतको दक्षिण पैयुँ क्षेत्रको विकासका लागि एमाओवादीको जित आवश्यक भएको भन्दै दाहालले हुवासमा इलाका प्रशासन र सरकारी कार्यालयका इलाका कार्यालयहरु राख्ने आश्वासनसमेत दिए ।
दाहालले सम्बोधन गर्ने सभालाई लक्षित गरी विभिन्न सात ठाउँमा राखिएका शङ्कास्पद वस्तु र बम प्रहरी र सेनाले निष्क्रिय पारेको थियो ।
