समाचारशुक्रबार, कार्तिक २९, २०७०
बसमा पेट्रोल बम प्रहार, १३ जना घाईते
मकवानपुरको बसामाडी–३, तीनताप्केमा २८ कात्तिक राति कलैयाबाट काठमाडौ जादै गरेको ना ४ ख ९८३६ नम्बरको बसमा पेट्रोल बम प्रहारपछि आगो लाग्दा १३ जना घाइते भएको प्रहरीले जनाएको छ । बम प्रहारपछि बसमा आगलागी हुनुका साथै अनियन्त्रित भइ सडक छेउँमा पल्टेको थियो ।
घाईते हुनेहरूमा बसका चालक बारा कलैयाका भोलाप्रसाद साह, सहचालक कलैयाका राकेश यादव, काठमाडौ धापाखेलका धनबहादुर लामा, चापागाउका रामबहादुर लामा, बारा कठाघरका सन्त रेग्मी, उमा रेग्मी, कलैयाका कौशल खातुन, लक्ष्मीपुरका कृष्ण चौधरी, सर्लाही पिपरीका उमेश पण्डितलगायत छन् ।
घाईतेमध्ये ७ जनाको वीरगञ्जमा, २ जनाको काठमाडौंमा र ४ जनाको भरतपुरमा उपचार भईरहेको छ ।
बम प्रहारपछि बसमा लागेको आगो हेटौँडा नगरपालिकाको दमकलको सहयोगमा प्रहरी नियन्त्रणमा लिएको थियो ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
