थप समाचारशुक्रबार, कार्तिक २९, २०७०
वीरगञ्जमा खुलेआम नुनको कालोबजारी
व्यापारीहरुले बारा, पर्सा र रौतहटमा हाकाहाकी नुनको कालोबजारी गरिरहेको भेटिएको छ । छिमेकी भारतको विहारमा नुनको अभाव भएको हल्ला चलाएर बारा, पर्सा र रौतहटका व्यापारीले कालोबजारी गरिरहेका हुन् ।
व्यापारीले प्रति केजी १६ रुपैंया पर्ने नुन ५० देखि १५० रुपैंयाँसम्ममा बिक्री गरिरहेका छन् । बारा, पर्सा र रौतहटका बजारमा अहिले नुनको अभाव छ । व्यापारीले ‘नुन छैन’ भनेर रित्तै फर्काउने गरेको उपभोक्ताले गुनासो गरेका छन् ।
भारतको गुजरात सरकारले विहारमा पठाउने नुनको सप्लाई बन्द गरेको हल्ला चलेपछि यता नुनको भाउ बढेको हो ।
यसैबीच, नुनको अभावको हल्ला फैलाएर कालोबजारी गरिरहेका वीरगञ्जका तीन जना व्यापारी पक्राउ परेका छन् । प्रहरीले २८ कात्तिकमा प्रतिकेजी ८० रुपैंयामा नुन बिक्री गरिरहेका तीन जनालाई पक्रेको हो ।
पक्राउ पर्नेमा किराना पसल गर्ने वीरगञ्ज पावरहाउस चोकका विश्वनाथप्रसाद रौनियार, भिष्वाका भरतप्रसाद कुशवाहा र अशोकवाटिकाका भोलाप्रसाद वर्णवाल छन् । उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत कारवाही अघि बढाइने पर्सा प्रहरीले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
