समाचारशनिबार, मंसिर १, २०७०
एमाओवादीका नेता राम कार्की र उम्मेदवार राई घाइते
ओखलढुङ्गा सदरमुकामबाट निशङ्खेमा हुने चुनावीसभाका लागि जाँदै गरेको एमाओवादी नेता कार्यकर्ताहरु चढेको ना२ख २३११ नम्बरको बस ठूलाछाप–६ कुडुलेमा दुर्घटना हुँदा बसका सहचालक विकास कटुवालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा केन्द्रीय सदस्य राम कार्की र उम्मेदवार केशव राईसहित २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घाइते सबैलाई ओखलढुङ्गास्थित सामुदायिक अस्पताल ल्याइएको छ ।
कार्की र राईसहित ११ जनाको अवस्था गम्भीर भएको र उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ । बस सडकबाट १५० मिटर तल खसेको छ ।
रासस
