समाचारआइतबार, मंसिर २, २०७०
अमानवीय कार्य रोक्न मोर्चालाई बारको अपील
नेपाल बार एशोसिएसनले २ मंसीरमा विज्ञप्ति जारी गर्दै निर्वाचन बहिस्कारको नाममा बन्दको आह्वान गरेर सवारी साधनमा पेट्रोल बम प्रहार गर्ने, सार्वजनिक स्थलमा बम राख्ने, आवागमन अवरोध गर्नेजस्ता अमानवीय कार्य रोक्न नेकपा–माओवादी नेतृत्वको मोर्चासँग अपील गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “वर्तमान सरकारको अविलम्ब बहिरगमनका लागि पनि स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन आवश्यक भएकोले त्यस्तो निर्वाचनमा सहभागी हुन पाउने जनताको अधिकारको सम्मान सबैपक्षबाट हुनु पर्ने हाम्रो दृढ धारणा रहेको छ ।”
त्यस्तै बन्दलाई असफल बनाउने नाममा सरकारका तर्फबाट पनि मानवअधिकारको उल्लंघन गर्ने, झुठा मुद्दा लगाउने कार्य नगर्न पनि बार एशोसिएनले आग्रह गरेको छ ।
“चुनाव बहिष्कार गर्ने वा त्यसको प्रतिवाद गर्ने दुवै पक्षलाई हिंसा निम्त्याउने कुनै पनि काम कारवाही नगर्न नेबाए अपील गर्दछ ।”
संविधानसभाको अर्को निर्वाचन हुन २ दिन बाँकी छँदासम्म बन्द र हडतालसँगै मुलुकभर हिंसात्मक घटनाहरुका कारणले निर्वाचनमा भाग लिन पाउने जनताको संविधान प्रदत्त अधिकारमा गम्भीर आघात पुगेको एशोसिएसनले ठहर गरेको छ ।
