समाचारसोमबार, मंसिर ३, २०७०
एमाओवादी उम्मेदवारद्वारा आफ्नै नेता अपहरण
पार्टीको आन्तरिक विवादको निहुँमा धनुषा क्षेत्र नम्बर २ का एमाओवादी उम्मेदवार रामचन्द्र मण्डलले आफूलाई अपहरण गरेको एमाओवादी नेता फरमूद नदाफले बताएका छन् । “आफूलाई सहयोग गरेन भन्ने आरोप लगाएर मलाई मण्डलले अपहरण गरेका हुन्,” नदाफले भने ।
आफ्नै पार्टीका उम्मेदवारबाट अपहरणमा परेका धनुषाका एमाओवादी नेता एवम् पूर्व सभासद फरमुद नदाफलाई प्रहरीले अपहरण मुक्त गराएको छ ।
२ मंसीरमा अपहरणमा परी वेपत्ता भएका एमाओवादी मिथिला राज्य समिति सदस्य एवम् पूर्वसभासद ५५ बर्षीय फरमूद नदाफलाई प्रहरीले २ मंसीरमै राति कमला व्यारेज नजिकैबाट मुक्त गराएको हो ।
उनलाई हाल धनुषा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । धनुषाका प्रहरी प्रमुख एसपी उत्तम राजसुवेदीले नदाफलाई राति नै उद्दार गरी घटनाको अनुसन्धान गरिरहेको हिमालखबरलाई बताए ।
पार्टीको आन्तरिक विवादको निहुँमा धनुषा क्षेत्र नम्बर २ का एमाओवादी उम्मेदवार रामचन्द्र मण्डलले आफूलाई अपहरण गरेको नदाफले बताएका छन् । “आफूलाई सहयोग गरेन भन्ने आरोप लगाएर मलाई मण्डलले अपहरण गरेका हुन्,” नदाफले भने ।
मण्डलले भने आफ्नो भोट बिगार्दै हिँडेका नदाफलाई २ मंसीरमा सिरहा आएका पार्टी अध्यक्ष पुष्पकमल दाहालसमक्ष लैजाँदै गर्दा अपहरणमा परेको झूठो हल्ला चलाएको दाबी गरे ।
मातृका यादवले एमाओवादी छाडेर नेकपा माओवादी पुनर्गठन गरेपछि रिक्त हुन आएको संबिधानसभा सदस्य पदमा एमाओवादीले नदाफलाई सभासद बनाएको थियो ।
ईश्वरचन्द्र झा, जनकपुर

