थप समाचारसोमबार, मंसिर ३, २०७०

‘खाना खान आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी गयो’

हिमालखबर

पेट्रोल बम प्रहारबाट जलेर निधन भएका राजकुमार देउजाकी अामा आफ्ना नाति र नातिनीसँगै । तस्वीर: श्याम गुप्ता

२८ कात्तिक २०७० को बिहान । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले ४ मंसीरको संविधानसभा निर्वाचन बिथोल्न बन्द आह्वान गरेकाले राजकुमार देउजा क्षेत्री बाराको निजगढ–७ स्थित घरमै थिए । फुर्सद भएकाले बारीमा प्याज रोप्दै थिए । विहानको खाना पनि खाएका थिएनन् । त्यही बेला ट्रक मालिक हरि प्रसाई आएर बन्दको खासै प्रभाव छैन, धान पुर्‍याउन जितपुर जाउँ भने ।

राजकुमार उनको ट्रक चलाउँथे । त्यसपछि उनी खाना समेत नखाई हिडे । “खाना खान आउँछु भन्दै गएको थियो, कहिल्यै नआउने गरी गयो” उनकी आमा चिनीमाया भन्छिन् ।

मोर्चाले बन्दको आह्वान गरेको चौथो दिन २८ कात्तिक दिउँसो पूर्व–पश्चिम राजमार्गको निजगढ–पथलैया सडक खण्डको दुधौरा पुल नजकिै गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार हुँदा घाइते भएका ३७ वर्षीय राजकुमार २ मंसीर बिहान उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा निधन भएपछि परिवार शोकमा डुबेको छ । उनकी आमा र छोराछोरीलाई सान्त्वना दिन आएका छरछिमेकी पनि पूरै शोकमा छन् ।

७ कक्षासम्म मात्र पढेका पढेका देउजाले सानै छँदा ट्रकमा खलाँसीको काम शुरु गरेका थिए । “गाडी चलाउन शुरु गर्दा २० वर्ष जतिको हुँदो हो” आमा चिनिमायाले भक्कानिंदै भनिन्, “वित्थामा मारे मेरो छोरालाई, आखिर के दोष थियो र गरीबको ?”

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराईरहेका छोरासँग अन्तिम पटक १ मंसीरमा उनले फोनमा कुरा गरेकी थिइन् । छोरासँगको अन्तिम कुराकानी सम्झँदै उनी भन्छिन्, “निको भएर आउँछु भन्थ्यो, अर्को दिन त गैहालेछ ।” बन्दले गर्दा छोराको शव गाउँमा ल्याउन नपाएकाले आफन्तले काठमाडौंमै अन्तिम संस्कार गरेको उनले बताइन् । घाइते लोग्नेसँगै काठमाडौं गएकी देउजाकी श्रीमती निर्मला अझै फर्कन पाएकी छैनन् । “बन्द छ भन्छन, बाबा जस्तै आमालाई पनि जलाउलान् भनेर हामीले नआउन भन्यौं” १२ वर्षीया छोरी निशाले भनिन् ।

बन्द भएकोले करेसामा प्याज रोप्दै गरेका देउजालाई ट्रक मालिकले बन्दको प्रभाव नपरेको भन्दै बोलाएर काममा लगेका थिए । उनले नेपाल बन्दले केही नहुने, केही भैहाले पनि सरकारले बेहोर्छ भन्दै काममा बोलाएर लिएका थिए । निशा भन्छिन्, “पछि रेडियोबाट मात्रै बाबा घाइते भएको थाहा पायौं । ”

मालिकले बोलाएपछि जीतपुरमा धान लिन गएका देउजाले जाने बेला धान ओसारेर आफू खाना खान आउने बताएका थिए, तर उनी कहिल्यै नआउने गरी गए ।

बम प्रहारबाट ट्रक मालिक प्रसाई र सहचालक लबेश्वर चौधरी पनि घाइते भएका थिए । आक्रमणमा सामान्य घाइते भएका सहचालक चौधरी सिमरास्थित अस्पतालमा उपचारपछि घर फर्केका छन् भने ट्रकधनी प्रसाईको काठमाण्डौंमा उपचार भैरहेको छ ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>