समाचारमंगलबार, मंसिर ४, २०७०
निर्वाचन सम्पन्न, केही स्थानमा धाँधली, जुम्लामा स्थगित
अहिलेसम्म प्राप्त समाचार अनुसार केही स्थानमा धाँधली, बुथ कब्जा, विष्फोट र झडप भए पनि तुलनात्मक रुपमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ ।
नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचन विथोल्ने निकै प्रयास गरे पनि त्यसको ठूलो प्रभाव पर्न सकेन । २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा भन्दा पनि यसपटक बढी मत खसेको अनुमान गरिएको छ ।
जुम्लाको देवालस्थित त्रिभुवन मावि मतदान केन्द्रमा मतपत्र सहितको मतपेटिका नेकपा–माओवादीले कब्जा गरी स्थानीय तिला नदीमा बगाएपछि त्यहाँ पुनः मतदान हुने भएको छ ।
निर्वाचन आयोगले उक्त केन्द्रमा सक्दो चाँडो पुन:निर्वाचन गराउने भएको छ ।
थवाङमा मत खसेन
रोल्पाको थवाङमा कुनै पनि मतदाता मतदानका लागि आएनन् ।
बिहानदेखि कर्मचारी र सुरक्षाकर्मी खटिएको भए पनि कुनै पनि मतदाता मतदान केन्द्रमा नआएको प्रहरीले जनाएको छ । नेकपा–माओवादीको प्रभाव रहेको थवाङमा एक हजार ८७८ मतदाता छन् ।
३ मंसीर राति नै थवाङका मतदाताको परिचयपत्र करिब ५० जनाको समूह आएर खोसी लगेको स्थानीयले बताएका छन् ।
बलभद्र उच्च माविमा तीन मतदान केन्द्र तय गरिएको भए पनि अझैसम्म कुनै मतदाता नआएको त्यहाँ खटिएका मतदान अधिकृत रामकुमार न्यौपानेले बताए ।
एमाओवादीद्वारा गोरखामा बुथ कब्जा
एमाओवादी कार्यकर्ताले गोरखाको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा गरेका छन् । बाबुराम भट्टराई उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर– १ का विभिन्न मतदान केन्द्रमा उनीहरुले मतदाताको परिचयपत्र खोसेर एकपक्षीय रुपमा मतदान गरिरहेका हुन् । उनीहरुले अन्य दलका उम्मेद्वारका प्रतिनिधि (एजेण्ट) लाई पनि मतदान केन्द्रबाट लखेटेका छन् ।
भट्टराईका कार्यकर्ताहरुले गोरखाको बोर्लाङ घैरुङको सरस्वती मावि, घ्याल्चोक– ७ बास्कोटको हिमालय मावि, घ्याल्चोक– ५ पातलेटारको ज्ञानमार्ग उच्च मावि, नाम्जुङ– ९ को पातलेदेवी निमावि, बादली डाँडा– ४ को जनशक्ति उच्च माविको मतदान केन्द्रमा बुथ कब्जा गरेका छन् । यस्तै, एमाओवादी कार्यकर्ताले बोर्लाङको सरस्वती निमावीमा पनि बुथ कब्जा गरेका छन् ।
एमाओवादी कार्यकर्ताले मतदाताका परिचयपत्र खोस्न थालेपछि झडप हुँदा दुई जना घाइते भएका छन् । केन्द्रको सुरक्षार्थ खटिएका प्रहरीले पनि एमाओवादीलाई समर्थन गरिरहेको मतदाताले आरोप लगाएका छन् । समय छोटिंदै जाँदा उनीहरुले गोरखा–१ का अधिकांश मतदान केन्द्रहरु कब्जा गरिसक्ने योजना बनाएको बुझिएको छ ।
सञ्चारकर्मीलाई पनि मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन । नेकपा एमाले र नेपाली कांग्रेसका स्थानीय नेताहरुले गोरखा–१ मा मतदान रद्द गरी पुनः मतदान गराइनुपर्ने माग राखेका छन् ।
नेकपा–माओवादीका दुई कार्यकर्ता पक्राउ
जाजरकोटको क्षेत्र नं २ को टालेगाउँ गाविसको जनकल्याण निमावि गुप्ताले मतदान केन्द्रमा बम पड्काउने डेटोनेटर तार बिछयउने तयारीमा रहेका नेकपा– माओवादीका दुई कार्यकर्तालाई नेपाली सेनाले पक्राउ गरेको छ ।
टालेगाउँ गाविस– ७ का सुरेन्द्र सिंह र अर्जुन सिंहलाई सेनाको निर्वाचन गस्ती टोलीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए ।
दाहालको निर्वाचन क्षेत्रमा धाँधली
एमाओवादी अध्यक्ष उम्मेदवार रहेको क्षेत्र नम्बर ५ को तीन वटा मतदान केन्द्रमा पनि एमाओवादीले अन्य पार्टीका समर्थक मतदातालाई अवरोध गरेका छन् ।
एमाओवादी कार्यकर्ताले बडहरामाल– ९ स्थित प्रावि मतदान केन्द्र, सोही गाविसको वडा नम्बर ६ स्थित निमावि भुलकिया मतदान केन्द्र र कल्याणपुर कालाबन्जर जनता मावि मरेवा मतदान केन्द्रमा माओवादीबाहेक दलका मतदातालाई अवरोध गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले उक्त तीन मतदान केन्द्रमा मतदाताबीच नै विवाद भएको दाबी गरे । उनले सुरक्षाकर्मीले विवाद साम्य पारेपछि सहजरूपमा मतदान भइरहेको बताए ।
सिरहाको क्षेत्र नं ३ मा पर्ने कृष्णपुर– १ स्थित मावि मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताले मतदाता परिचयपत्र नपाएका व्यक्तिलाई मतदान गर्न लगाएपछि झडप भएको छ ।
झडपका क्रममा कृष्णपुर– ३ की मतदाता उर्मिलाकुमारी साह सामान्य घाइते भएकी छन् । एमाओवादीका स्थानीय नेता मुकेश साह नेतृत्वमा रहेका कार्यकर्ताले मतदाता परिचयपत्र नपाएका व्यक्तिलाई मतदान गर्न लगाउँदा सामान्य झडप भएको स्थानीय दिपेशकुमार यादवले बताउनुभयो ।
उनले भने, “झडप हुन लाग्दा नेपाली सेनाको टोली आएपछि सामसुम पा¥यो । सेनाको टोली नआएको भए ठूलै झडप हुने सम्भावना थियो ।”
सिरहामा तराई निर्वाचन पर्यवेक्षण मञ्च, द कार्टर सेन्टर, इन्सेक, नियोकलगायतका संस्थाका प्रतिनिधिले पर्यवेक्षण गरेका छन् ।
भोटेबहालमा बम विष्फोट: बालक घाइते
काठमाडौँको भोटेबहालमा बम विस्फोट हुँदा दु्इ बालक घाइते भएका छन् ।
टेकु र भोटेबहालबीचको सडकखण्डमा राखिएको बम खेलाउँदा दुइ बालक घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बालकको अहिले वीरअस्पतालमा उपचार भइरहेको छ, भने घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।
त्यसैगरी देशका विभिन्न भागबाट निर्वाचन विरोधी गतिविधि तथा जनतालाई त्रसित बनाउने कार्यमा संलग्न ५६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जनकपुरमा सुतली बम निष्क्रिय
जनकपुरको भानुचोकस्थित नेपाल बैंक लिमिटेड सिटी अफिस जनकपुरको पछाडि राखिएको सुतलीबम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
यसैगरी धनुषाको मौवा कपलेश्वरमा पनि बम राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैबीच धनुषा निर्वाचन क्षेत्र नं. ५ को सपहीमा नेपाली कांग्रेस र तमलोपाका कार्यकर्ताबीच भएको झडप प्रहरीले साम्य पारेको पनि जनाइएको छ ।
दाङमा बम निष्क्रिय
दाङको विभिन्न स्थानमा रहेका मतदान केन्द्रका आसपासमा राखिएका विस्फोटकजन्य वस्तुलाई नेपाली सेनाको १९ नं बाहिनी तुलसीपुरको टोलीले बिहानैदेखि निष्क्रिय गरेको छ ।
सेनाले लमही, मौरीघाट, सोनपुर फल्कापुरलगायत स्थानमा राखिएका विस्फोटकजन्य वस्तु निष्क्रिय गरिसकेको दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।
त्यसैगरी हापुर गाविसको निघुवार मतदान केन्द्र र सोही गाविसको हापुर उच्चमावि मतदान केन्द्र, वीरेन्द्र उमावि भ्युडर सोनपुर मतदान केन्द्र नजिक राखिएको बम सेनाले निष्क्रिय पारेको छ ।
त्यस्तै तुलसीपुर नगरपालिका– ६ रजौरा लक्ष्मीनाराण मन्दिरको अगाडिको सडकमा वडा नं १ को गोटिखोला र फूलबारी गाविसमा रहेको रनियापुर नजिकैको खोला छेउमा पनि विस्फोटक पदार्थ भेटिएको प्रहरीले जनाएको छ ।
एमाओवादी र एमाले कार्यकर्ताबीच झडप
रौतहट क्षेत्र नं ३ स्थित पोटीयाही प्राविमा अवस्थित मतदान केन्द्रमा एमाले र एमाओवादी कार्यकर्ताबीच झडप भएको छ ।
झडपमा घाइते एमाओवादीका कार्यकर्ता धर्मेन्द्र मण्डलको गौर अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी देबाहीका सशस्त्र प्रहरी नायब निरीक्षक शशिकुमार पाण्डेले बताए ।
झडपपछि पोटीयाही प्रावि मतदानकेन्द्रको मतदान केहीबेरका लागि अवरुद्ध भए पनि पुनः सुचारु भएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक पाण्डेले बताए ।
सकेट बमसहित चार जना पक्राउ
दाङको सोनपुर गाविस– ४ को श्रीगाउँ भन्ने स्थानबाट चार जनालाई सकेट बमसहित प्रहरीले पक्राउ गरेको छ ।
उच्चसुरक्षा स्रोतका अनुसार पक्राउ पर्नेमा सोही गाविसका प्रेमलाल चौधरी, सागर चौधरी, सन्दीप चौधरी र रामप्रसाद चौधरी रहेका छन् । पक्राउ परेका सबै नेकपा–माओवादीका कार्यकर्ता हुन् । े
ठूलीपोखरीमा गोली चल्यो, तीन घाइते
पर्वतको ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ ।
मतदान भइरहेका बेला एमाओवादीका कार्यकर्ताले होहल्ला गर्न थालेपछि हवाई फायर भएको हो । प्रहरीका अनुसार तीन राउन्ड हवाई फायर भएको हो ।
झडपका क्रममा भएको भागदौडमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा वडा नंं ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ भन्ने व्यक्ति घाइते भएका छन् । घाइते तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनालाई नियन्त्रणमा लिनका लागि सदरमुकामबाट थप दुई टोली सुरक्षाकर्मी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । झडपका कारण उक्त केन्द्रमा केही समय मतदान अवरुद्ध भएको थियो ।
पर्वतका अन्य मतदान केन्द्रमा सामान्य झडप भए पनि कुनै अप्रिय घटना नभएको र सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सुचारु भइरहेको प्रहरीले जनाएको छ ।
मतदानपछि मृत्यु
मतदानका क्रममा पर्सा क्षेत्र नंं १ वीरगन्ज उपमहानगरपालिका श्रीपुरस्थित नेसनल ट्रेडिङ लिमिटेड मतदान केन्द्रमा मतदान गरिसकेपछि एक वृद्धको मृत्यु भएको छ ।
बिहान करिब ८ बजे मतदान गरेर बाहिर आएपछि अचानक बेहोस भएर लडेका ७३ वर्षीय गौरीशङ्कर मानन्धरको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाँच ठाउँमा फेला परेको बम निष्क्रिय
महोत्तरीका पाँच ठाउँमा फेला परेकोे बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
पूर्व–पश्चिम लोकमार्ग र सहायक मार्गमा फेला परेका सबै बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको गणपति राजेन्द्रमणि गिरीले जानकारी दिए ।
गिरीका अनुसार पिप्रा पश्चिम गाविस–४ मा एक प्रेसर कुकर बम र दुईवटा बट्टा बम, पङ्सेरा गाविस–८ कडरबोनामा आल्मुनियमको कसौडीमा राखेको एउटा बम, खोजपुर गाविस–८ खरचुइयामा एउटा सकेट बम, धर्मपुर गाविस–८ सिम्राहा चोकमा प्लास्टिक बट्टामा राखेको एउटा बम र रायपुर गाविस–८ स्थित कृषि भवन नजिक कार्टुन बट्टामा राखेको एउटा बम निष्क्रिय पारिएको हो ।
दैलेखको चामुण्डामा मतपत्र लुटियो
दैलेख जिल्लाको चामुण्डा गाविसस्थित चामुण्डा उच्च मावि परिसरको ‘क’ मतदान केन्द्रमा नेकपा–माओवादीले आक्रमण गरी मतपत्र च्यात्नुका साथै मतपेटिका फुटाएर भागेपछि मतदान केहीबेर स्थगित भएको थियो ।
दैलेख सदरमुकाम नारायण नगरपालिकादेखि नौ किमि टाढाको सो मतदान केन्द्रको मतदान प्रक्रिया सर्वदलीय सहमतिपछि दिउँसोबाट पुनः सुरु गरिएको मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले जानकारी गराए । उनुभयो ।
अहिले सो मतदान केन्द्र वरिपरि क्षेत्रको सुरक्षा घेरालाई अत्यन्त कडा पारिएको छ भने मतदाता आउने क्रम पनि जारी रहेको बताइएको छ ।
——————————————————————————————————————————————-
‘दोलखा १ मा प्रहरीकै आडमा धाँधली’, पुनः मतदानको माग
दोलखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका पाँचवटा मतदान केन्द्रमा प्रहरीको आडमा एमाओवादीले बुथकब्जा गरी धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेको छ । पाँचमध्ये तीन मतदान केन्द्रमा कांग्रेसले समेत पुनः मतदानको माग गरेको छ ।
दोलखा क्षेत्र नम्बर १ मा रहेका एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाइँले प्रहरीकै आडमा बुथ कब्जा भएको दाबी गरेका छन् । “सरकार पूर्णरुपमा एकपक्षीय रुपमा प्रस्तुत भयो, प्रहरीले नै मतदान केन्द्रमा अरुलाई निषेध गरेर एकपक्षीय रुपमा भोट खसाल्न लगाइरहेको छ” चौलागाईंले हिमालखबरसँग भने, “बुथ कब्जा गरेर एकपक्षीय रुपमा मत खसालिएकाले पुनः मतदान गरिनुपर्छ ।”
ठूलोपातल मतदान केन्द्रमा एमाओवादी र कांग्रेसले संयुक्त रुपमा बुथ कब्जा गरेको र एमालेका प्रतिनिधि तथा कार्यकर्ताहरुलाई निर्घात कुटेर लखेटिएको उनले बताए । “त्यहाँ पहिले एमाओवादीले भोट खसाल्ने, त्यसपछि काँग्रेसले खसाल्ने र त्यसपछि बचेमा एमालेले खसाल्ने विषयमा एमाओवादी–र कांग्रेसले सहमति गरे” उनले भने, “मतदान अधिकृतले त्यसो गर्न हुन्न भनेपछि एमालेका कार्यकर्तालाई कुट्न शुरु गरियो, पूर्वसभासद शान्ति पाख्रिन लगायतका हाम्रा कार्यकर्तामाथि खुकुरी लगायतबाट आक्रमण भयो ।”
घाइते तीनजना एमाले कार्यकर्तालाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको र अन्य ६ जना घाइतेलाई प्रहरीले पक्राउ गरी थप यातना दिएको चौलागाईंको दाबी छ । एमाले कार्यकर्ताहरु अमृत गुरुङ, रोशन लामा, प्रकाश जिएम, कमल पाख्रिन, खड्गबहादुर केसी र तेजबहादुर खड्का घाइते भएका छन् । उनीहरुमध्ये खड्कालाई एमाओवादी कार्यकर्ताले कुटेपछि सेना र प्रहरीले बाँधेर थप यातना दिएको उनले बताए ।
त्यसैगरी प्रहरीले खोजी गरिरहेका अभियुक्त गौरब तामाङको नेतृत्वमा गएको एमाओवादी टोलीले गैरीमुदी गाविसको मतदान केन्द्रमा विपक्षी दलका एकजनालाई पनि छिर्न नदिइ सम्पूर्ण मत आफैं खसालेको र त्यही टोलीले मृगेको कालिढुंग्गा उच्च मावि मतदान केन्द्र समेत कब्जा गरी खस्न बाँकी रहेको सबै मत एकपक्षीय रुपमा खसालेको दाबी कांग्रेस–एमालेले गरेका छन् ।
“त्यही टोली झुले मतदान केन्द्रमा पुगेर बुथ कब्ज गर्न लाग्दा रोक्न आग्रह गरेपछि डिएसपीले पनि त्यस्तो आदेश छैन भनेर पन्छिए” चौलागाईंले भने । त्यसैगरी अन्य दलका प्रतिनिधिसमेत राख्न नदिइएको निलकण्ठेश्वर मतदान केन्द्र पनि एमाओवादीले पूर्णरुपमा नियन्त्रणमा लिई मत खसालेको चौलागाईंले बताए ।
“सबैसँग बन्दुक छ, हाम्रो केही लागेन” चौलागाईंले भने, “पुनः मतदानको माग गर्दा सिडिओले मानेनन्, निर्वाचन आयोगसँग पनि पुनः मतदानको माग गरेका छौं ।”
मध्यक्षेत्रका डिआजी विज्ञानराज शर्माले केही ठाउँमा समस्या देखिए पनि समाधान गरेर मतदान सुचारु गरेको दाबी गरेका छन् ।
———————————————————————————————————————————————–
काभ्रे– १ मा ४ राउण्ड हवाइफायर
नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएपछि काभ्रे क्षेत्र नम्बर– १ कोशीपारीको मतदान केन्द्रमा प्रहरीले ४ राउण्ड हवाइफायर गरेको छ ।
काभ्रे क्षेत्र नम्बर– १ कोशीपारीको गाविस पोखरी चौकीको अरनिको मावि केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको छ । दुई पक्षबीचको विवादले उग्र रुप लिएपछि प्रहरीले चार राउण्ड हवाइफायर गरेको छ ।
मतदानको विषयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको हो । एमालेका कार्यकर्ताले एकपक्षीय रुपमा मतदान गरेको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध गरेका थिए ।
विवाद चर्किएपछि रोकिएको मतदान भने शुरु भएको छ । सर्वदलीय बैठकले मतदान शुरु गर्ने निर्णय गरेको हो ।
यसैबीच, सुरक्षाकर्मीहरु अरनिको मावि केन्द्रमा गएको मौका छोपी नजिकैको जागृति मावि केन्द्रमा एमाओवादी कार्यकर्ताले नेपाली कांग्रेस कार्यकर्ता कुटेका छन् । उनीहरुको कुटाईबाट एक जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् ।
रामकृष्ण बञ्जारा, काभ्रे
—————————————————————————————————————————–
दोलखामा एमाले कार्यकर्तामाथि एओवादीको आक्रमण, केहीबेर निर्वाचन स्थगित
दोलखामा एमाओवादीले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरी चार जनालाई गम्भीर घाइते बनाएका छन् । स्थिति तनावग्रस्त भएपछि केही बेरका लागि मतदान समेत स्थगित भएको छ ।
दोलखाको- १ को ठूलोपातल मतदान केन्द्रमा धाँधली गर्न खोजेका एमाओवादी कार्यकर्तालाई एमाले समर्थकहरुले रोक्न खोज्दा उनीहरुमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारबाट ४ जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
झडप भएपछि करिब आधा घण्टा निर्वाचन कार्यक्रम स्थगित भएको थियो । आक्रमणकारी एमाओवादीका कार्यकर्तालाई पक्राउ गरिएपछि निर्वाचन पुनः शुरु भएको प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्ले जनाएका छन् ।
सर्मिला बुढाथोकी, दोलखा
——————————————————————————————————————
काठमाडौं भोटेवहालमा बम बिष्फोट
काठमाठौंको भोटेबहालमा बम बिष्फोट भएको छ । बिष्फोटमा परी दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था सामान्य रहे पनि अर्काको अवस्था गंभिर छ । गंभिर घाइते ८ वर्षीय समीर खड्गीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
बिष्फोटमा परी उनको दाहिने हात गुमेको छ । बालकको शरीरबाट बमका छर्रा भने निकालीसकेको वीर अस्पतालका चिकित्सकले बताएको सहकर्मी मीना शर्माले जनाएकी छन् ।
खेलौना भनेर हातमा खेलाइरहेको बेला ४ मंसीर बिहान बम बिष्फोट भएको उनका दाईले बताए ।
——————————————————————————————————————————-
काठमाडौंका मतदान केन्द्रमा मोबाइलको प्रयोग
काठमाडौं उपत्यकामा मतदान केन्द्रभित्रै मोबाइल फोन लैजान कडाई नगरिएको भेटिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न मतदान केन्द्रमा पुगेका हिमालखबर पत्रिका सहकर्मीहरुकाअनुसार प्रहरीले मोबाइल लैजान कडाई नगरेको भेटिएको छ ।
निर्वाचन आयोगले मतदान केन्द्रमा मोबाइ क्यामरा लैजान निषेध गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केन्द्रमा मोबाइल लैजान कडाई गर्न निर्देशन दिने हिमालखबरसँग बताए ।
——————————————————————————————————————————-
निर्धारित समयमै मतदान शुरु भएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । देशैभर ४ मंसिर बिहान ७ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ । मतदातामध्ये ६१ लख ६६ हजार ८२९ महिला, ५९ लाख ८० हजार ८८१ पुरुष र १५५ तेस्रो लिङ्गी छन् ।
निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० सिटका लागि ६ हजार १२७ उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिकतर्फ ३ सय ३५ सिटका लागि १ सय २२ दलका १० हजार ७०९ उम्मेदवार रहेको आयोगले जनाएको छ ।
——————————————————————————————————————————–
यसैबीच, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले नयाँ वानेश्वरस्थित केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रमा रहेको मतदान केन्द्रबाट मत खसालेका छन् ।
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले बाँके क्षेत्र नम्बर– ३ स्थित वन कार्यालयमा रहेको मतदान केन्द्रबाट पहिलो मत खसालेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या प्रावि केन्द्रबाट मत हालेका छन् ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तनहुँ– २ को सत्यवती उच्च माविको केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर ७ को पकनाजोल केन्द्रबाट मत खसालेका छन् ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले इलाम फिक्कलबाट मत खसालेका छन् ।
तनहुँमा एक सय एक वर्षीय नन्दराम पुन मगरले भोट खसालेका छन् । उनले व्यास नगरपालिकाको चण्डिदेवी उच्च मावि केन्द्रमा मत खसालेका हुन् ।
एमालेका महासचिव ईश्वर पोखरेलले काठमाडौं– ४ को शंखपार्क केन्द्रबाट मतदान गरेका छन् ।
गृहमन्त्री माधव घिमिरेले काठमाडौं क्षेत्र– ७ को बनस्थलीमा भोट खसालेका छन् ।
बझाङमा बल्ल मतदान सुरु भएको छ । बिहानैदेखि बझाङमा विवाद भएको थियो ।
देशैभरका मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिती छ । नेकपा–माओवाद नेतृत्वको ३३ दलीय मोर्चा भने निर्वाचनको विपक्षमा छ ।
काठमाडौंमा दृष्टिविहीन सुशिल अधिकारी र वासुदेव अधिकारीले पनि चुनावको पर्यवेक्षण गरिरहेका छन् । मतदान प्रक्रिया अपाङ्गमैत्री भए नभएको बारेमा पर्यवेक्षण गरिरहेको सुशिल अधिकारीले हिमालखबरसँग बताए ।
धनुषा क्षेत्र नम्बर– ५ को सपहीमा नेपाली कांग्रेस र तमलोपाका कार्यकर्ताबीच झडप भएको छ । सपहीमा ४ मंसीरमा दुई पक्षबीच झडप हुँदा एक जना घाइते भएका छन् । झडपको क्रममा तमलोपाका एक कार्यकर्ताको टाउको फुटेको जनकपुरबाट इश्वरचन्द्र झाले जनाएका छन् ।
धनुषा क्षेत्र नम्बर– ४ को जनकपुर भन्सार कार्यालय मतदान केन्द्रमा सकेट बम फेला परेको छ ।
पवन पौडेल, तनहुँ
मीनरत्न बज्राचार्य, काठमाडौं
मीना शर्मा, काठमाडौं
देवकी विष्ट, काठमाडौं
सन्त गाहा मगर, काठमाडौं
गोपाल गडतौला, झापा
बच्चु बिक, महेन्द्रनगर
रामजी दाहाल, गोरखा
इश्वरचन्द्र झा, जनकपुर

