समाचारमंगलबार, मंसिर ४, २०७०
गोरखामा एमाओवादीको जबर्जस्ती
गोरखाका–१ को घ्यालचोकस्थित मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताले अन्य दलका समर्थकलाई मतदान गर्नमा जबर्जस्ती रोक लगाएका छन् । घ्यालचोकस्थित सहकर्मी रामजी दाहालका अनुसार एमाओवादीले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका प्रतिनिधिलाई समेत केन्द्रमा जान रोक लगाएका छन् ।
अहिले त्यसक्षेत्रको स्थिति तनावग्रस्त छ ।
बझाङको पाटादेवलमा डेढ घण्टा ढिलो मतदान शुरु
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएपछि बझाङ–१ स्थित पाटादेवल उमावि मतदान केन्द्रमा झण्डै डेढ घण्टा ढिलो मतदान शुरु भएको छ ।
बझाङ–१ को पाटादेवलमा ३ मंसीर राति नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो । ४ मंसीर बिहान पनि झडपको सम्भावना भएपछि डोटीबाट हेलिकप्टर मार्फत नेपाली सेना र प्रहरीको टोली आएर मतदान शुरु गराएको बझाङका प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमिल्सिनाले बताए ।
“थप सुरक्षाकर्मी खटाई मतदानको प्रक्रिया शरु गरिएको छ,” प्रजिअ तिमिल्सिनाले भने । अहिले स्थानीयस्तरमा पनि कांग्रेस र एमालेबीच झगडा नगर्ने सहमति भएपछि स्थिति सामान्य बन्दै गएको छ ।
बझाङमा १ सय ५० मतदान केन्द्र मध्ये यो केन्द्र बाहेक अन्यमा निर्धारित समयमा मतदानको काम सुरु भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङले जनाएको छ ।
दीपक ओली, कैलाली
