थप समाचारबिहीबार, मंसिर ६, २०७०

मतगणना रोक: एमाओवादी, रोकिंदैन: प्रमुख आयुक्त

हिमालखबर

सञ्जीव शर्मा
केन्द्रीय कार्यालयले गरेको निर्णय भन्दै सिन्धुपाल्चोकमा रहेका एमाओवादी प्रवक्ता अग्नि सापकोटाद्वारा मध्यरातपछि जारी विज्ञप्तिमा निर्वाचनमा षडयन्त्र र चलखेल भएको भन्दै देशभर मतगणना रोक्न माग गरिएको छ ।

करिब आधा मतगणना भइसकेको र एमाओवादीे अधिकांश क्षेत्रमा पछि परेको अवस्थामा एमाओवादीको यस्तो विज्ञप्ति आएको हो ।

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले भने मतगणना नरोकिने हिमालखबरलाई बताए । उनले भने, “पूर्णरुपमा फ्रि एण्ड फेयर निर्वाचन भएको छ, मतगणन रोकिने भन्ने कुरा हुँदैन ।” उप्रेतिले अगाडि भने, “परिणामप्रति हतोत्साही नभई संयम र धैर्यताका साथ निर्वाचनको सम्पूर्ण प्रक्रिया सफल पार्न सबैलाई म आग्रह गर्दछु ।”

त्यस्तै एमाले नेता विष्णु पौडेलले एमाओवादीले धाँधली गर्न नपाएको र हार्न थालेको क्षेत्रमा मतगणना रोक्न माग गरेको बताए । “गोरखा र सिरहामा उहाँहरुले बहिस्कार गर्नु भएको छैन, अरु ठाउँमा उहाँहरुलाई बहिस्कार गर्नु परेको छ, ” पौडेलले भने, “यो जनमतको ठाडो अपमान हो ।”
मतगणना आधा जसो भइसकेपछि आधारातमा एक्कासी चलखेल र षडयन्त्र भन्दै मतगणना बहिस्कार गर्नु अलोकतान्त्रिक र हरुवा मानसिकताको उपज भएको पौडेलले प्रतिक्रिया दिए ।

यसअघि मतदान सकिएलगत्तै ४ मंसीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाले निर्वाचन अभूतपूर्वरुपमा शान्तिपूर्ण सफल भएको बताएका थिए भने एमाओवादी नेता बाबुराम भट्टराईले निर्वाचन ‘ब्यापक जनसहभागिता र शान्तिपूर्णरुपमा’ भएको भन्दै ट्वीटरमार्फत सबैलाई बधाई दिएका थिए ।

तर, मतगणनाको परिणाम आउँदै गर्दा आधा रात ढल्केपछि एमाओवादीले एक्कासी सबैजसो मतगणनास्थलबाट आफ्ना प्रतिनिधिहरुलाई फिर्ता बोलाएको छ ।

कान्तिपुर टेलिभिजनसँग ६ मंसीर बिहान करिब साढे तीन बजे कुरा गर्दै एमाओवादी प्रवक्ता अग्नि सापकोटाले निर्वाचनमा षडयन्त्र र चलखेल भएको आफूलाई भर्खरै थाहा भएको बताएका छन् ।

केही दिनअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले किर्तिपुरमा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ‘साम दाम दण्ड भेद सबै प्रयोग गरेर जसरी भए पनि जित्नु पर्ने’ निर्देशन दिएका थिए । आफ्नो मत पहिले भन्दा कम मात्रै आए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा दल र आफ्नो बारेमा नकारात्मक सन्देश जाने बताइएको दाहालको अडियो सार्वजनिक भएको थियो ।

तर, पछिल्लो मतगणना परिणाम अनुसार काठमाडौं १० मा उनी नेपाली कांग्रेसका उम्मेदवारभन्दा धेरै पछि छन् भने देशभर नै एमाओवादी तेस्रो स्थानमा देखिएको छ ।

एमाओवादीद्वारा जारी विज्ञप्ति:

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>