समाचारआइतबार, आषाढ ३१, २०६९
संविधानसभा पुनर्स्थापना गर्न तयार छौँ: दाहाल
संविधानसभाको पुनःस्थापनाका लागि विभिन्न राजनीतिक दलका शीष नेतासँग अनुरोध गर्दै आएका विभिन्न दलसम्बद्ध पूर्व सभासद्को प्रतिनिधिमण्डलको ३१ असारमा ज्ञापनपत्र बुझदै अध्यक्ष दाहालले राजनीतिक दलको सहमतिमा संविधानसभाको पुनःस्थापना गर्न सकिने बताएका हुन । उनले भने,”काँग्रेस र एमालेलगायतका दललाइ पनि तपाईंहरू दबाब दिनुस्, संविधानसभाको ठूलो दल हुनाको हैसियतले हाम्रो पार्टी यसका लागि सकारात्मक छ ।’
आफ्नो पार्टी संविधान निर्माण प्रक्रियामा सहजता पैदा होस् भनेर सेना समायोजनको प्रक्रिया अगाडि बढाएको हो भन्दै पार्टी भीत्र विवाद र फुट आए पनि अरू दलले त्यो कुरा बुझन नसकेको अध्यक्ष दाहालले आरोप लगाए । संविधानका लागि जोखिम मोल्दा पनि काँग्रेस र एमाले संविधानका लागि तयार नदेखिएको र राज्य पुनःसंरचनाको विषयमा प्रस्ट धारणा बनाउन नसक्दा संविधान निर्माण हुन नसकेको दाहालको तर्क थियो । राजनीतिक दलहरूका बीचमा अहिले पनि छलफल र वार्ता जारी रहेकाले संविधानसभा पुनःस्थापनाको सम्भावना बढ्ता रहेको र त्यसका लागि अझै दबाब जरुरी रहेको समेत अध्यक्ष दाहालले बताए ।
प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा देखिएका विवादित विषय एकमुष्ट समाधान हुने अवस्था आए र राजनीतिक दल त्यसका लागि तयार भए संविधानसभा पुनःस्थापना गर्न सकिने बताइसकेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले आफ्नो पार्टीभीत्र संविधानसभा पुनःस्थापनाको सवालमा कुनै पनि विवाद नभएको बताए ।
पूर्वसभासद्ले संविधानसभाका विभिन्न समितिमा आफ्नो जिम्मेवारी पुरा गरेकाले सबै सभासद् उस्तै दोषी हुन् भनेर तर्क गर्नुको अर्थ नहुने बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण गर्न नसक्नाको प्रमुख दोष प्रमुख दलका शीर्ष नेताले नै लिनुपर्ने र जिम्मेवारी पनि शीर्ष नेताको नै रहेको उल्लेख गरे । उनले भने, “तपाईं सभासद् मित्रहरूले आफ्नो जिम्माको काम दुइ वर्षभत्रै पूरा गरिसक्नुभएको छ, तपार्इंहरूको मागअनुसार संविधानमा देखिएका विवादित विषय सहमतिमा टुङ्ग्याएर संविधानसभाको पुनःस्थापना गर्नका लागि पार्टीको तर्फाबाट सकारात्मक पहल हुन्छ ।”
कांग्रेस र एमाले नेता पनि संविधानसभाको पुनःस्थापना नै होस् भन्ने पक्षमा रहेको र त्यसको प्रक्रिया कस्तो हुने भन्नेमा मात्रै विवाद रहेको उनको भनाइ थियो । अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउनका लागि एनेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा-माओवादी, मधेसी मोर्चामा सम्बद्ध राजनीतिक दलका नेता एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पुगेका थिए ।
अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीकी नेतृ तथा पूर्वसभासद् कल्पना धमलाले संविधानसभाको पुनःस्थापनाका लागि अध्यक्ष सकारात्मक रहेको जानकारी दिए । यसैगरी नेपाली काँग्रेसका पूर्वसभासद् शोभाकर पराजुलीले संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा अध्यक्ष दाहाल सकारात्मक रहेको र उनले आफ्नो तर्फाट विशेष पहल गर्ने बताएको जानकारी दिए ।
एमाले पूर्वसभासद् लालबाबु पण्डितले संविधानसभाको पुनःस्थापनाका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्ने कार्यक्रमअनुसार एमाओवादीका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।रासस
