थप समाचारशनिबार, मंसिर ८, २०७०
लगातार जित्ने नेता र यसपटक हार्ने चर्चितहरु
२०४८, २०५१, २०५६, २०६४ र २०७० को आम निर्वाचनमा यी नेताहरुले कहिले हार ब्यहोर्नु परेन । त्यस्तै मधेशी जनाधिकार फोरमका विजय गच्छदारले पनि सँधै संसद वा संविधान सभामा प्रतिनिधित्व गरे पनि यसपटक भने एक क्षेत्रबाट जित र अर्कोबाट हार ब्यहोरेका छन् ।
नेपाली कांग्रेसका शेरबहादुर देउवाले २०४८, २०५१, २०५६ सालको संसदीय निर्वाचन डडेलधुराबाट जितेका थिए । उनले २०६४ सालको निर्वाचनमा डडेलधुरा र कञ्चनपुर ४ बाट जितेका थिए भने यसपटक डडेलधुरा र कैलाली ६ बाट जितेका छन्।
पौडेलले २०४८ को संसदीय निर्वाचन तनहुँ १ र त्यसपछिका निर्वाचनहरु तनहुँ २ बाट जित्दै आएका छन् । मजफो गणतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि २०४८ सालदेखि हालसम्म निरन्तर चुनाव जितेको इतिहास कायम गरेका छन् ।
यसअघि नेपाली कांग्रेसमा रहेका २०४८, २०५१ र २०५६ मा सुनसरीबाट संसदीय चुनाव जितेका थिए । कांग्रेस छाडेर फोरममा लागेपछि उनले २०६४ मा सुनसरी ३ र मोरङ ७ बाट जितेका थिए । यसपटक भने उनी सुनसरी ३ बाट जिते पनि मोरङ ७ मा कांग्रेस नेता शेखर कोइरालाले उनलाई हराए ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छले भक्तपुर १ बाट लगातार पाँचवटा निर्वाचन जितेका छन् ।
कांग्रेसमा हुँदा २०४८, २०५१ र २०५६ का आम निर्वाचनका बिजयी रामजनम चौधरी २०६४ को निर्वाचनमा मधेशी जनाधिकार फोरमबाट समानुपातिकतर्फका सभासद थिए भने यसपटक उनले कैलाली ३ बाट फोरम लोकतान्त्रिकतर्फबाट निर्वाचन जितेका छन् ।
हार्नेहरु
२०४८ सालदेखि लगातार निर्वाचन जितिरहेका तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले यसपटक भने हारे । यस पटक उनलाई नवलपरासी ६ बाट नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारसँग पराजित भएका छन् ।
सर्वाधिक चर्चामा रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं– १० र एमाओवादी नेता बाबुराम भट्टराईले रुपन्देही ४ बाट हारे पनि अर्को क्षेत्रबाट जितेर साख जोगाउने नेतामा दरिएका छन् । यद्दपी संविधान सभा निर्वाचन –२०७० मा पार्टीले ठूलो पराजय भोग्नु परेपछि एमाओवादीले निर्वाचन मतगणना आधा सकिएपछि बहिस्कार गरेको थियो ।
दाहालले सिरहा ५ र भट्टराईले गोरखा–१ बाट निर्वाचन जितेका हुन् ।
त्यस्तै इलामबाट जितेका एमाले अध्यक्ष झलनाथ खनाल सर्लाही १ बाट एमाओवादीका शम्भूराम श्रेष्ठसँग भने पराजित भएका छन् ।
मजफो लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मोरङ ७ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङ ५ बाट पराजित भएका छन् । तर गच्छदारले सुनसरी ३ बाट र यादव सुनसरी ५ बाट भने बिजयी भएका छन् ।
त्यस्तै एमाओवादी नेता नारायणकाजी श्रेष्ठ पनि मकवानपुर २ बाट पराजित भएका छन् । एमाओवादीकै महासचिव भइसकेका पोस्टबहादुर बोगटी नुवाकोट ३ बाट हारेका छन् । पूर्व उपसभामुख एवम् एमाओवादी नेतृ पूर्ण कुमारी सुवेदीले बाँके ४ बाट हारिन् ।
एमालेका सचिव शंकर पोखरेलले दाङ ४ बाट हारेका छन् भने कांग्रेसका केन्द्रीय सदस्य आमोद उपाध्यायले मोरङ १ र दीपकुमार उपाध्यायले कपिलवस्तु १ बाट जित्न सकेनन् ।
एमाओवादी नेतृ एवम् बाबुराम भट्टराईकी पत्नी हिसिला यमीले काठमाडौं ७, नेता एवम् पूर्व अर्थमन्त्री बर्षमान पुनले मोरङ ९ र अर्का एमाओवादी नेता देवेन्द्र पौडेलले काठमाडौं ९ बाट हारेका छन् ।
संविधानसभा निर्वाचन भन्दा केही अघि मात्रै एमालेबाट एमाओवादीमा प्रवेश गरेककी रामचन्द्र झा र उर्मिला अर्यालले पनि हार ब्यहोर्नु परेको छ ।
एमाओवादीका चर्चित बाहुबली शालिकराम जमकट्टेल धादिङ ३ बाट हारेका छन् । एमालेका नेताहरुमध्ये पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र रघुजी पन्तले पनि हारेका छन् । एमालेका प्रभावशाली युवा नेताहरु घनश्याम भुसालले रुपन्देही ५ र योगेश भट्टराईले काठमाडौं ६ बाट पराजित भएका छन् । र रामनाथ ढकाल विजयी हुन सकेनन् ।
कांग्रेसका केन्द्रीय नेताहरू रामकृष्ण ताम्राकार रूपन्देही २, अफ्ताव आलम रौतहट २ र किशोर सिंह राठौर बर्दिया ४ बाट पराजित भएका छन् । त्यस्तै कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पनि झापा १ बाट हारे ।
सर्लाही ४ मा तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलाई हराएका छन् । तमलोपा महन्थ ठाकुर सर्लाही ५ बाट पराजित भएका छन् । महोत्तरी १ र ६ बाट उम्मेदवारी दिएका राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले हारेका छन् ।
पर्सा १ मा उम्मेदवारी दिएकी नेपाल सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले कांग्रेसका राजेन्द्र अमात्यसँग भारी मतान्तरले हारेकी छन् । फोरम गणतान्त्रिकका अध्यक्ष तथा पूर्वसञ्चारमन्त्री राजकिशोर यादवले पनि सिरहा ६ बाट हारेका छन् ।
दाहालका परिवारका कसैले जितेनन् ।
एमाओवादी अध्यक्ष दाहाल, उनकी छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र ‘बुहारी’ बिना मगरले पनि हारेका छन् ।
पुष्पकमल दाहालले काठमाडौं १० बाट उनकी छोरी रेणु दाहालले काठमाडौं १ बाट, भाई नारायण दाहालले चितवनबाट र ‘बुहारी’ बिना मगरले कञ्नपुरबाट हारेका हुन् ।
अन्य उम्मेदवारको प्रचारप्रसारमा नखटिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीको क्षेत्र काठमाडौं १ बाट घरदैलो गरी निर्वाचन प्रचार अभियान शुरु गरे पनि छोरीलाइ जिताउन सकेनन् ।
