थप समाचारमंगलबार, मंसिर ११, २०७०
संविधान लेखन चाँडै शुरु गरः विदेशी राजदूत
११ मंसीर बिहान कोइराला निवास महाराजगन्जमा भएको सभापति सुशील कोइराला र अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेबीच भएको भेटमा राजदूत बोडेले राजनीतिक स्थायित्व कायम गरी छिटोभन्दा छिटो संविधान लेखन कार्यमा अग्रसर हुन सुझाव दिएका छन् ।
सहमतिका आधारमा सबै राजनीतिक दललाई विश्वासमा लिएर काम गर्न सल्लाह दिँदै राजदूत बोडेले सभापति कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि शुभकामना दिएको कोइरालाका स्वकीयसचिव लक्ष्मण ढकालले जानकारी दिए ।
भट्टराईसँग पनि भेट
एमाओवादीका नेता बाबुराम भट्टराईसँग पनि राजदूत बोडे ११ मंसीरमै भेटेका छन् ।
सानेपामा भएको भेटवार्तामा भट्टराईले संविधानसभा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्ने बताएको उनका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।
आफ्नो पार्टी शान्ति र संविधान निर्माणको प्रक्रियाबाट बाहिर जान नसक्ने बताउँदै भट्टराईले बाहिर आएका घटनाको छानबिन हुनुपर्ने र त्यसमा सरोकार भएका निकायले समयमै प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
शान्ति र संविधानको प्रक्रियालाई पूर्णता दिन सरकार र संविधानका विषयमा राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने आफ्नो पार्टीको शर्त रहेको पनि भट्टराईले बोडेलाई जानकारी गराए ।
चीनको पनि चासो
यसैबीच नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत बु चिन्ताईबीच पनि छलफल भएको छ ।
उपसभापति पौडेलको निवास बोहोराटारमा भएको सो भेटवार्तामा नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा चीनका राजदूतले बधाई दिँदै संविधान निर्माण गरेर नेपालको शान्ति, विकास र स्थिरताको मार्ग अघि बढोस् भन्ने चीनको इच्छा रहेको बताएका छन् ।
“चाँडो संविधान बनोस्, नेपालमा शान्ति, स्थिरता र विकासको कामले तीव्रता लिनुपर्छ भन्ने चीनको चाहना छ,” भेटमा चिनियाँ राजदूतले भन्नुभएको भनाइ उद्धृत गर्दै उपसभापति पौडेलले बताए ।
“निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, अब हामी सहमति जुटाएर संविधान लेखनमा केन्द्रित हुन्छौँ र विकासको कामलाई पनि अघि बढाउँछौँ,” आफूले राजदूत बुलाई बताएको पौडेलले भने ।
