रमझममंगलबार, मंसिर ११, २०७०
एक्ली बाँसुरीवादक
महिलाको उपस्थिति नभेटिने नेपाली बाँसुरीवादनमा अमृता उप्रेती अपवाद हुन्। उनी १२ वर्षदेखि यो साजको तपस्यामा छिन्। बारा, महेन्द्रनगर दाकाहाकी अमृताले दाजु ध्रुवको उत्प्रेरणाबाट यो सुर समातेको बताइन्।
“नेपालकी महिला बाँसुरीबाज भन्नुस् या बाँसुरीविज्ञ, अब म त्यो हुँदैछु”, अमृताले इमेल संवादमा भनिन्। नेपालका बाँसुरी गुरु जीवन आलेसँग चार वर्ष प्रशिक्षण लिएकी उनी पण्डित चौरसियाको मुम्बईस्थित वृन्दावन आश्रममा साधनारत छिन्। आश्रममा उनी बाँसुरीका नयाँ साधकहरूलाई सिकाउँछिन् पनि।
१२ वर्षदेखि विधिवत् बाँसुरी साधनामा रहेकी अमृताले किराँतेश्वर संगीत आश्रममा १ कात्तिक र २ कात्तिकमा पाटनको यलमाया केन्द्रमा एकल प्रस्तुति गरेर संगीतका नेपाली पारखीहरूको प्रशंसा बटुलेकी थिइन्। बाँसुरीका गुरु जीवन आले भन्छन्, “अमृताले लिएर आउने बाँसुरी कलाप्रति म धेरै आशावादी छु।”
ऋषिराम कट्टेल
