थप समाचारबुधबार, मंसिर १२, २०७०

नयाँ अनुहार

हिमालखबर

– डम्बरकृष्ण श्रेष्ठ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० मा पराजित गर्ने कांग्रेसका राजेन्द्र केसी।

संविधानसभा निर्वाचन–२०७० को प्रत्यक्ष निर्वाचनमा धेरैजसो तिनै अनुहार विजयी भए, जो स्थानीय थिए। स्थानीय तहमा भिजेर काम गरेका उम्मेदवारहरूले जात, पार्टी नहेरी भोट पाएको देखियो। जस्तो, काठमाडौंको क्षेत्र नम्बर १० मा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पहिलोबाट तेस्रो स्थानमा सीमित पार्ने नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी चोभारमै जन्मेका र स्थानीयस्तरमा भिजेका व्यक्ति हुन्।

विद्यार्थी हुँदा २०३० सालबाट कांग्रेस राजनीति थालेका केसीको जनसेवा २०४७ मा चोभार गाविसको इकाई सभापति भएपछि शुरू भएको थियो। २०४९ मा वडा अध्यक्ष भएका उनले त्यसपछि जिविस सदस्य र कांग्रेसको क्षेत्रीय सभापतिको रूपमा स्थानीय जनताबीच चिनिएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा राष्ट्रिय व्यक्तित्व दाहालसँग ११ हजार मत अन्तरले पराजित केसीलाई यस पटक जनताले उनै दाहाललाई भन्दा ७ हजार ५३३ बढी २० हजार ३९२ भोट दिएर संविधानसभामा पठाएका छन्।

दुखसुखका स्थानीय

एमाओवादी नेता वर्षमान पुनलाई हराउने मोरङ–९ का कांग्रेसका डिकबहादुर लिम्बू ।

उता झापा–१ बाट विजयी रविन कोइरालाले जनताको काम गरिदिने नेताको परिचय बनाएका छन्। २०४९–५९ मा उनले गाविसको वडा सदस्यदेखि जिविस सदस्य र मेयरसम्म भएर काम गरे। एमाले झापाका अध्यक्ष समेत रहेका कोइरालाले काँकडभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति र काँकडभिट्टा उच्चमावि व्यवस्थापन समितिको नेतृत्व गरिसकेका छन्।

अहिले मनमोहन मेमोरियल हस्पिटल, बिर्तामोडका उपाध्यक्ष रहेका उनकै नेतृत्वमा काँकडभिट्टामा बसपार्क बनिरहेको छ। काँकडभिट्टा–बाहुनडाँगी सडक र काँकडभिट्टा बजार क्षेत्रका सडक पीच गर्ने काममा खटेका कोइराला मेचीनगरपालिकाको मेयर हुँदा चक्रपथ निर्माणका साथै विद्युतीकरण गरेका थिए।

खुदुनाबारी गाविसका पूर्व अध्यक्ष प्रेम गिरीलाई पनि यस पटक जनताले झापाबाट सभासद् चुनेका छन्। स्थानीय तहमा गैरसरकारी संस्था खोलेर पनि सामाजिक सेवा गरेका गिरीले लामो समयदेखि जनप्रतिनिधिको रूपमा खानेपानीदेखि स्वास्थ्य चौकी स्थापना गरेर स्थानीय विकासप्रेमीको परिचय बनाएका थिए।

गाउँ–गाउँमा नेतृत्व विकास तालीम र सहकारीदेखि स्वाबलम्बी समूह व्यवस्थापन, पोषण शिक्षा, डालेघाँस व्यवस्थापन र सामूहिक पशुपालनसम्मका काममा खटेका गिरीले स्थानीय संघ–संस्थालाई परियोजना प्रस्तावहरू लेखिदिएर समेत सहयोग गरेका छन्। कुनै समय गाउँभरिको दूध संकलन गरेर घरबाट १५ किलोमिटर टाढाको बिर्तामोड लगेर बेचेका गिरीले एमालेबाट चुनाव लडे पनि स्थानीय साझा नेताका रूपमा सबैको मत पाए।

मोरङ क्षेत्र नं ९ मा एमाओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई तेस्रो बनाउने नेपाली कांग्रेसका डिकबहादुर लिम्बू पनि लामो समयदेखि जनताको बीचमा रहेर काम गरेका स्थानीय नेता हुन्। लेटाङ–४ का लिम्बू २०६४ को निर्वाचनमा झिनो मतअन्तरले माओवादीबाट पराजित भएका थिए। शुरूमा वाम राजनीति गरेका उनी २०४३ सालमा कांग्रेसमा प्रवेश गरेका थिए।

कांग्रेसको गाउँ सभापतिदेखि क्षेत्रीय सभापति, जिल्ला सह–सभापति र महासमिति सदस्यसम्म भएर काम गरेका उनले दिलोज्यान दिएर सबैको काम गरेकैले सभासद्मा सबैको भोट पाएका हुन्। मोरङ निर्वाचन क्षेत्र नं.२ बाट एमालेको टिकटमा चुनाव जितेका चण्डीप्रसाद राई पनि लोकप्रिय स्थानीय शिक्षक हुन्। गरीब परिवारका विद्यार्थीको शुल्क तिरिदिएर परीक्षामा सहभागी गराउनेदेखि हरदम सामाजिक काममा सक्रिय रहने स्वभावका कारण उनले सबै पार्टीको मत ताने।

मोरङ क्षेत्र नं १ बाट विजयी एमालेका ऋषिकेश पोखरेल, क्षेत्र नं ४ बाट विजयी एमाओवादीका शिवकुमार मण्डल र क्षेत्र नं ५ बाट विजयी अमृत अर्याल पनि स्थानीयस्तरमा धेरै लोकप्रिय नेता हुन्। यसैगरी, चितवन क्षेत्र नं.३ बाट विजयी एमालेका कृष्णभक्त पोखरेल २० वर्षदेखि स्नानीय तहमा सक्रिय अधिवक्ता हुन्। २०४० सालदेखि एमालेमा काम गरेका मृदुभाषी पोखरेलले चितवनमा धेरैको प्रिय भएकाले जितेका हुन्। उता, कास्की क्षेत्र नं. ४ बाट विजयी एमालेकी सीता गिरी र क्षेत्र नं. २ बाट विजयी कांग्रेसकी शारदा पौडेल पनि जिल्लामा सुपरिचित स्थानीय नेतृ हुन्। दुवै जना स्थानीय जागरुक भएकैले कास्कीका मतदाताको रोजाइमा परेका हुन्।

दाङ क्षेत्र नं.३ बाट विजयी नेपाली कांगे्रसका राजु खनाल स्थानीय स्रोतसाधनको शक्तिमा जोड दिने ‘पपुलर’ स्थानीय नेता हुन्। शालीन र सबैसँग मित्रवत् व्यवहार गर्ने खनालको स्वभावका कारण पनि सबैले भोट दिएका हुन्। दाङ क्षेत्र नं. २ बाट विजयी कांग्रेसकी सुशीला चौधरी लामो समयदेखि महिला तथा विपन्न वर्गको पक्षमा काम गरेर लोकप्रिय भएकी स्थानीय नेतृ हुन्। स्थानीयस्तरमा महिला तथा विपन्नहरूको अधिकारको पैरवी गर्दै आएकी उनी लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था सिसहनियाको अध्यक्ष पनि हुन्।

उता, बैतडी क्षेत्र नं. २ मा राप्रपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पराजित गरेका नरबहादुर चन्दलाई स्थानीय लोकप्रिय हेरेरै नेपाली कांग्रेसले टिकट दिएको थियो। दशरथ चन्द नगरपालिका– ६ सिमाइलका उनी सर्वसाधारणबाट लोकप्रियताको भोट पाएर जितेका सभासद् मानिन्छन्। कैलाली क्षेत्र नं. १ बाट विजयी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का जनकराज चौधरी राजनीतिक अनुभवभन्दा पनि असल शिक्षकको स्थानीय लोकप्रियताबाट सभासद् भएका छन्।

सर्लाही–१ मा पनि एक जना पूर्व गाविस अध्यक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई हराएर सभासद् भएका छन्। दुई पटक पत्थरकोट गाविस अध्यक्ष भएका शम्भुलाल श्रेष्ठ लोकप्रिय स्थानीय उम्मेदवार भएकैले राष्ट्रिय व्यक्तित्व खनाललाई हराउने गरी मत बटुल्न सफल भएका हुन्। अन्तिम घडीमा कांग्रेसबाट टिकट नपाएर एमाओवादीबाट उठ्दा पनि एमालेको राम्रो पकड भएको क्षेत्रमा अध्यक्ष खनाललाई ६०० भन्दा बढी मतअन्तरबाट हराएर श्रेष्ठले स्थानीय हुनुको महत्वलाई स्थापित गरेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>