समाचारबिहीबार, मंसिर १३, २०७०
मोस्ट वान्टेड सिकन्दर पक्राउ
मोष्ट वान्टेड सूचीमा रहेका सिकन्दर अलि शेष (खाँ) १३ मंसीरमा बाँकेको होलियाबाट हतियारसहित पक्राउ परेका छन् । भूमिगत समूहमा सक्रिय उनीसहित भारत श्रावस्ती नवावगन्ज हसनपुरका २५ वर्षीय हविव खाँ पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
‘तराई जनतान्त्रिक पार्टी मधेश’ बाँके बर्दिया संयोजक सिकन्दरमाथि हत्या, हिंसा, अपहरण, चन्दा असुली, फिरौती, बिष्फोटन लगायत दर्जन बढी अपराधिक घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले अत्यधिक खोजी सूचीमा राखेको थियो । सीमावर्ती भारतीय शहरमा बसेर नेपालमा विभिन्न अपराधिक गतिविधिमा सिकन्दर संलग्न थिए ।
प्रहरीले हविवको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली तथा सिकन्दरको साथबाट मेड ईन जर्मनी लेखिएको १३१३२३२ नम्बरको रिभल्वर र दुई थान गोली बरामद गरेको छ । प्रहरीले अञ्चल प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी दुवैलाई १३ मंसीरमा सार्वजनिक गरेको हो ।
खा“को पक्राउपछि बाँके र बर्दियामा शान्ति सुरक्षाको अवस्थामा सुधार आउने अञ्चल प्रहरी प्रमुख मधुसुधन पुडासैनीले दावी गरे ।

सिकन्दरमाथि २८ कात्तिक २०६७ मा ईन्द्रपुर–७ खजुरा खुर्दका गंगाराम पासी र मन्नु भन्ने मुन्ना यादवको घाँटी रेटी हत्या गरेको, २७ माघ २०६७ मा बागेश्वरी–२ का प्रकाश श्रेष्ठमाथि गोली प्रहार गरी हत्या गरेको, १० फागुन २०६९ मा खजुराखुर्द–४ का दलबहादुर थापालाई गोली हानी हत्या गरेको, १० माघ २०६९ मा नेपालगञ्जको रामलिला मैदान नजिकै गौरव मल्ललाई गोली प्रहार गरेको लगायत अभियोग छ ।
त्यस्तै तत्कालीन महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका क्याम्पस प्रमुख राजितराम पाठकलाई अपहरण गरी १५ लाख रुपैंया फिरौती लिएको, २४ भदौ २०७० मा बाँके उदयपुर–५ का देवेन्द्र शर्मालाई अपहरण गरी ७ लाख फिरौती लिएको लगायत अभियोग छन् ।
बाँके प्रहरी प्रमुख भूपालकुमार भण्डारीले भने, “यस क्षेत्रबाट भूमिगत समूहको नाममा हुने अपराध छिटै निर्मूल हुनेछ ।”
तुफान न्यौपाने, हिमालखबर
