समाचारबुधबार, साउन ३, २०६९
जातीय कुरा उठाउँदा अधिकार प्राप्तिको लडाइँ कमजोर हुने कांग्रेस उपसभापतिको भनाई
नेपाल महिला सङ्घद्वारा राजधानीमा ३ साउनमा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा उपसभापति पौडेलले समानता, स्वतन्त्रता, भातृत्व जस्ता मूल राजनीतिक सिद्धान्तलाई गौण बनाई सबैले आ-आफ्नो जातीय कुरामात्र उठाए अधिकार प्राप्तिको लडाइँ कमजोर हुने बताए । उपभासपति पौडेलले भने, “पहिचान, प्रतिनिधित्व, पहुँच र प्रगतिले नै सामाजिक रूपान्तरण गर्छ । सामाजिक रूपान्तरण सुनिश्चितताका लागि प्रजातान्त्रिक समाजवादले ठाउँ पाउनुपर्छ ।”
पौडेलले सङ्घीयताको लागि बहुजातीय, बहुसाँस्कृतिक, बहुधार्मिक बहुभाषिक र बहुविचारको मान्यतालाई स्वीकारिनुपर्ने बताउँदै एनेकपा माओवादी बहुलवादको दर्शनसँग आफूहरु मिल्न नसक्ने भन्दै पन्छिने गरेको आरोप लगाए । “एनेकपा माओवादी समाजको रूपान्तरण हैन कि सत्तामा टिकिरहने मात्र चाहन्छ । उसले समाज बदल्ने नारालाई सत्तामा चढ्ने भर्याङ मात्र बनाइआएको छ”, उपभासपति पौडेलले भने ।
कार्यक्रममा पौडेलले महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यक र पिछडिएका वर्गको हितका लागि लोकतान्त्रिक वातावरण अपरिहार्य रहेको बताउँदै संसदीय राजनीतिले नै समावेशीतालाई प्रोत्साहन दिने हुँदा समाजका पिछडिएका वर्गको हित पनि त्यसैमा निर्भर हुने बताए ।रासस
